
काठमाडौं । सरकारले विभिन्न अस्पतालमा एक हजारजना जनशक्ति थप्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदको गत बुधबारको बैठकले विभिन्न जिल्लामा रहेका अस्पतालमा एक हजार जनशक्ति थप्ने निर्णय गरेको हो ।
मन्त्रालयका अनुसार मन्त्रिपरिषदले बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा एक सय २९, धनगढीको गेटा अस्पतालमा एक सय ४१ तथा डडेलधुरा अस्पतालमा तीन सय १३ जनाको अस्थायी दरबन्दी स्वीकृत गरेको हो ।
जनशक्ति थपिएसँगै ती अस्पतालहरुले सञ्चालनमा खेपिरेहको समस्या समाधानमा सहज हुने मन्त्रालयका प्रवक्ता डा। प्रकाश बुढाथोकीले बताउनुभयो । यस्तै, मन्त्रिपरिषद बैठकले स्वास्थ्य बोर्डमा पनि चार सय दुई जना जनशक्ति थप्ने निर्णय गरेको छ ।
मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा बोर्डको दाबी भुक्तानी मूल्यांकन गर्न जनशक्ति अभावमा देखिएको समस्या हल गर्न अस्थायी दरबन्दी थप गर्न गरेको प्रस्ताव मन्त्रिपरिषदले स्वीकृत गरेको हो ।
बोर्डका लागि मन्त्री पौडेलले अधिकृतस्तरका ५६ जना तथा सहायकस्तर र श्रेणीविहीन तीन सय ४६ जना जनशक्तिको अस्थायी दरबन्दी स्वीकृतिका लागि प्रस्ताव मन्त्रिपरिषदमा लैजानु भएको थियो ।