
काठमाडौं । एक महिनादेखि आन्दोलनरत आवासीय चिकित्सकहरुले आफूहरुको आन्दोलन जारी रहेको बताएका छन् । वैशाख ११ गतेदेखि आन्दोलनमा रहेको चिकित्सक संघ हिजो सरकारसँग सहमति गरेर काममा फर्किए पनि उनीहरुको आन्दोलनमा ऐक्यबद्धता जनाएका आवासीय चिकित्सकले भने सो सहमतिप्रति असन्तुष्टि जनाउँदै आन्दोलन जारी रहेको बताएका हुन् ।
स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिले आफूहरुसँग कुनै पनि सहमति नभएको जनाउदै आन्दोलन यथावत रहेको समितिका प्रवक्ता डा। संजय बरालले जानकारी दिनु भयो ।
विज्ञप्ति जारी गर्दै समितिले भनेको छ – चिकित्सा शिक्षा आयोगको मिति २०८१ साल माघ २५ गतेको बैठकले गरेको निर्णय बमोजिमको पारिश्रमिक ३ महिनादेखि नपाएको र पटक पटक निर्देशन दिने बाहेक कुनै ठोस कदम नचालिएकाले आन्दोलनका कार्यक्रम जारी राखिएको हो ।
विभिन्न मेडिकल कलेजमा अध्ययनरत आवासीय तथा अन्य चिकित्सकहरुले मासिक तलब आठौं तह बराबर हुनु पर्ने र ४८ हजार निर्वाह भत्ता पाउनुपर्ने तथा ड्युटीको समयावधि तोकिनुपर्नेलगायतका माग राखेर ३२ दिनदेखि आन्दोलन गरिरहेका छन् ।