Banner Nepal
कक्षा १२ को पहिलो दिनको परीक्षा शान्तिपूर्ण रुपमा सकियो

कक्षा १२ को आजदेखि सुरु भएको परीक्षा शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । देशभर एकसाथ सुरु भएको परीक्षा छिटफुट घटना बाहेक सहजरुपमा सम्पन्न भएको हो । परीक्षार्थीले पहिलो दिन अनिवार्य अंग्रेजी, संस्कृत, बुद्ध शिक्षा र उर्दू व्याकरणको परीक्षा दिएका हुन् ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षामा ५ लाख ११ हजार ५ सय २५ परीक्षार्थी सहभागी छन् । नियमिततर्फ ३ लाख ९५ हजार ९ सय ८ र आंशिकतर्फ १ लाख १५ हजार ६ सय १७ जना विद्यार्थी परीक्षामा सहभागी भएको बोर्डले जनाएको छ । 

५ हजार २ सय २ विद्यालयका विद्यार्थीलाई कक्षा १२ को परीक्षा दिन १ हजार ५ सय ९१ परीक्षा केन्द्र तोकिएको छ । जसमध्ये जापानस्थित एभरेस्ट स्कूलबाट ३८ जना विद्यार्थी त्यहींको केन्द्रबाट परीक्षामा सहभागी भएका छन् ।
 ७७ जिल्लामध्ये सबैभन्दा कम मनाङबाट ४५ जना र सबैभन्दा बढी काठमाडौंबाट ६८ हजार १ सय ३३ जना परीक्षार्थीले जाँच दिएका छन् ।

मनाङ र मुस्ताङमा १–१ वटा र काठमाडौंमा सबैभन्दा धेरै १ सय ६२ वटा परीक्षा केन्द्र तोकिएको बोर्डले जनाएको छ । जेठ २ गतेसम्म सञ्चालन हुने परीक्षामा ४८ हजार २ सय ९ जना जनशक्ति खटिएका छन् । 

प्रकाशित मिति: आइतबार, वैशाख २१, २०८२  १२:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update