Banner Nepal
झरीले मुलुकका विभिन्न स्थानमा राजमार्ग अवरुद्ध, हवाई उडान र अवतरण पनि प्रभावित

काठमाडौं । गएरातिको वर्षाले पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी पूर्वको दाउन्ने सडकखण्ड अवरुद्ध भएको छ । लगातारको वर्षाका कारण सडक चिप्लो भएपछि सवारी आवागमनमा समस्या भएको हो । दाउन्ने बजार र विश्वकर्मा मन्दिर नजिकको बाटो चिप्लो भएका कारण गाडी गुड्न नसकेपछि सवारी साधन बाटोमै रोकिएको दुम्कीवासस्थित इलाका प्रहरी कार्यालयले जनाएको छ ।

सडक चिप्लो भएपछि पूर्व–पश्चिम हिँडेका गाडीलाई प्रहरीले दुम्कीवास, अरुखोला, चोरमारा र बर्दघाट बजारमा रोकेको छ । दाउन्नेको एकै ठाउँमा सवारीको चाप नहोस् भनेर गाडीलाई बजार क्षेत्रमै रोकिदिएको प्रहरीले जनाएको छ । यस्तै, हिजो रातिदेखिको झरीपछि पहिरो खसेर कालीगण्डकी करिडोर अवरुद्ध भएको छ ।

नवलपरासी पूर्वको गैंडाकोट नगरपालिका–३ हिउँदे खोला नजिकै पहिरो खसेर आज बिहानदेखि राजमार्ग अवरुद्ध भएको हो । इलाका प्रहरी कार्यालय गैंडाकोटका अनुसार कालीगण्डकी करिडोर अन्तर्गत सो सडकखण्डमा लगातार लेदो माटोसहितको पहिलो खसेकोले घटनास्थलमा प्रहरी नायब निरीक्षकको टोली पठाइएको छ ।

कालीगण्डकी करिडोर हुँदै ओहोरदोहोर गर्ने गाडी रोकिदिएको प्रहरीले जनाएको छ । त्यस्तै, झरीका कारण मौसम सफा नहुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान र अवतरण प्रभावित बनेको छ ।

अवतरणमा समस्या हुँदा कतिपय जहाज आकाशमा होल्ड भएको विमानस्थलले जनाएको छ । छेन्दुबाट काठमाडौं आएको एयर चाइना, सिचुवान एयर, सुर्खेतबाट काठमाडौं आउँदै गरेको श्रीएयर, भैरहवाबाट आएको यति एयर, नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको बुद्ध एयरको जहाजलाई पनि आकाशमै होल्ड गराइएको छ ।

रामेछापबाट फाप्लुका लागि उडेको जहाज डाइभर्ट भएको छ । लुक्ला, तुम्लिङटार लगायत गन्त्वयमा हुने अधिकांस उडान डिले भएको विमानस्थल प्रशासनले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, वैशाख २१, २०८२  १२:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update