Banner Nepal
नेपाल भ्रमणमा रहेका चौथाइवालेको नेपाली नेतासँग तीब्र भेटघाट, सत्ता गठबन्धन फेरबदलका लागि कसरत नभएको टिप्पणी

काठमाडौं । नेपालमा रहेका भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेले आज पनि केही नेतासँगको भेटघाटलाई निरन्तरता दिने बुझिएको छ । तीन दिन यता म्याराथन गतिमा नेपाली नेतासँगको भेटघाटमा व्यस्त रहेका चौथाइवालेले आज दोस्रो र तेस्रो तहका केही नेतासँग भेट्ने बताइएको छ । आफू बसेको मेरियट होटलमा अधिकांश भेटघाट गरेका चौथाइवालले आज पनि सोही होटलमा  भेटघाट गर्ने  बताइएको छ । दिनभर भेटघाटमा व्यस्त रहने चौथाइवाले आज साँझ फर्किने कार्यतालिका छ । तीनदिने भ्रमणका लागि अस्ती बुधबार काठमाडौं उत्रिएदेखि नै चौथाइवाले विभिन्न पार्टीका शीर्ष नेतादेखि दोस्रो र तेस्रो पुस्ताका दर्जनबढी नेतासँग भेटघाट गरिसक्नु भएको छ । पछिल्ला दुई दिनमा चौथाइवालेले प्रधानमन्त्री केपी शर्मा ओली, सत्तारूढ कांग्रेस सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्ष दल माओवादीका अध्यक्ष पुष्पकमल दाहालदेखि पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित १४ जनालाई भेटिसक्नु भएको छ । चौथाइवालेसँग भेटेका नेताहरुका अनुसार गठबन्धनप्रति चासो राखे पनि समीकरण नै बदल्ने खालको कुनै संकेत नदिएको दाबी गरिएको छ । कश्मीरमा भएको आतंकवादी आक्रमणलाई लिएर नेपालको साथ र समर्थनमा तलमाथि नहोस् भन्ने चौथाइवालेको मुख्य सरोकार रहेको ती नेताहरूको भनाई छ । 
 

प्रकाशित मिति: शुक्रबार, वैशाख १९, २०८२  १३:४८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update