Banner Nepal
सरकारले संसदमा आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दै, राष्ट्रपति पौडेलले संयुक्त बैठकलाई सम्वोधन गर्ने

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आज संघीय संसद्मा प्रस्तुत गर्दै छ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न    लाग्नु भएको हो ।

यसकालागि संसदका दुवै सदनको बैठक दिउँसो तीन बजे बोलाइएको छ । सत्ता साझेदार दलका बीच अर्थतन्त्रलाई थप चलायनमान बनाउने गरी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याउने विषयमा सहमति जुटिसकेको छ । आज सोही अनुरुपको नीति तथा कार्यक्रम राष्ट्रपति पौडेलले पढेर सुनाउनु हुने छ । नीति तथा कार्यक्रममा युवामा आशा जगाउने, उद्यमशीलता, शिप विकास, स्टार्टअप, व्यावसायिक योजना, सरकारको खर्च वृद्धि गर्ने र सुशासन कायम गर्ने विषयमा सरकारको नीति तथा कार्यक्रम केन्द्रित हुने बुझिएको छ ।

संविधानको धारा ९५ बमोजिम राष्ट्रपतिले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने व्यवस्था अनुरुप राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूचि राखिएको संसद सचिवालयले जनाएको छ । राष्ट्रपतिको सम्बोधन कार्यक्रमलाई व्यवस्थित गर्नका लागि सांसदलाई निर्धारित पोशाकमा पौने ३ बजे नै संसदमा उपस्थित हुन आग्रह गरिएको छ ।

आज प्रस्तुत हुने नीति तथा कार्यक्रममाथि यही वैशाख २२ देखि २८ गतेसम्म छलफल गरी पारित गर्ने कार्यसूची राखिएको छ । यस्तै, वैशाख ३० गते विनियोजन विधेयकमाथिको सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल हुने सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिनुभयो । त्यसलाई प्रि–बजेट छलफलका रूपमा लिने प्रचलन छ ।

आगामी जेठ १५ गते सरकारको आगामी आर्थिक वर्षको बजेट संसद्को संयुक्त बैठकमा अर्थमन्त्रीले प्रस्तुत गर्ने संवैधानिक व्यवस्था छ ।
 

प्रकाशित मिति: शुक्रबार, वैशाख १९, २०८२  १३:४४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update