Banner Nepal
सोती घटनाका दोषी २४ जनालाई  जन्मकैद, जातीय विभेद र छुवाछूतको आदेश भने बदर

काठमाडौं । जाजरकोटका नवराज विकसहित ६ जनाको हत्या भएको सोती घटनामा प्रतिवादीले पाएको जन्मकैदको सजाय उच्च अदालत सुर्खेतले सदर गरेको छ । उच्च अदालतका न्यायाधीश सोमकान्त मैनाली र मातृकाप्रसाद भण्डारीको इजलासले सो घटनामा २४ जना प्रतिवादीलाई जन्मकैदको सजाय सदर गरेको हो । सो इजलासले जातीय विभेद र छुवाछूतको कसूरमा जिल्ला अदालत रुकुम पश्चिमले दिएको आदेश भने बदर गरेको अदालतका उपरजिस्ट्रार प्रेमप्रकाश थापाले जानकारी दिनुभयो । २०८० मंसिर १९ गते जिल्ला अदालत रुकुम पश्चिमका तत्कालीन जिल्ला न्यायाधीश खड्कबहादुर केसीको इजलासले तत्कालीन वडाध्यक्ष डम्बरबहादुर मल्लसहित २४ जनालाई जन्मकैदको सजाय सुनाएको थियो । त्यस्तै नवराजकी प्रेमीका, उनकी आमा र दाइलाई जातीय छुवाछूतमा दोषी ठहर गर्दै दुई वर्ष कैद सजाय सुनाएको थियो । 
घटनामा ८ जनाले भने सफाइ पाएका थिए । जिल्लाको फैसलाविरुद्ध रुकुम पश्चिम थुनामा रहेका मल्लसहितले २४ थान पुनरावेदन दायर गरेकोमा नवराज विकका बुवा मुनलाल नेपालीले दुई थान पुनरावेदन निवेदन दायर गरेका थिए । यही वैशाख ९ गते उच्च अदालत सुर्खेतमा दायर २६ थान पुनरावेदन निवेदनमाथि न्यायाधीशद्वय मैनाली र भण्डारीको इजलासमा सुनुवाइ भएको सो मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो । नवराजसँगै गएका २० वर्षीय टीकाराम नेपाली, १९ वर्षीय गणेश बुढा, १८ वर्षीय लोकेन्द्र सुनार, २० वर्षीय सञ्जु विक र १७ वर्षीय गोविन्द शाही पनि सोती घटनामा मारिएका थिए । यता जातीय विभेदजस्तो जघन्य अपराधमा उच्चले उन्मुक्ति दिएको भन्दै मृतकका आफन्त र दलित अधिकारकर्मीले उच्च अदालत गेट अगाडि नाराबाजी गरेका छन् । 

प्रकाशित मिति: बुधबार, वैशाख १७, २०८२  ०९:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update