
काठमाडौं । विद्यालय शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने माग राख्दै आन्दोलनरत शिक्षकहरुले सरकारलाई थप दबाब बढाउने भएका छन् ।
काठमाडौंमा प्रदर्शनका क्रममा प्रहरीको हस्तक्षेप पछि नेपाल शिक्षक महासंघले मुलुकभरका शिक्षक कर्मचारीलाई आन्दोलन थप सशक्त बनाउन अपील गरेको हो ।
काठमाडौंको बानेश्वरमा हिजो भएको प्रदर्शनमा घाइते भएका ६२ जना शिक्षक तथा कर्मचारी र सञ्चारकर्मी मध्ये केहीको अवस्था गम्भीर भएको महासंघले जनाएको छ ।
शान्तिपूर्ण आन्दोलनमा राज्यले दमन गरेको भन्दै त्यसको प्रतिवादमा उत्रिन महासंघले सबै शिक्षकलाई आग्रह गरेको छ ।
उता, सरकार भने वार्ताको ढोका खुला नै रहेकाले संवाद मार्फत शिक्षकको माग सम्बोधन गर्ने मनस्थितिमा छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले आन्दोलनरत शिक्षकलाई वार्ताका माध्यमबाट समाधान खोज्न आग्रह गरिएको बताए ।
यसैबीच, सर्वोच्च अदालतले कक्षा १२ को परीक्षा प्रभावित नहुने गरी शिक्षकलाई काममा फर्कने वातावरण सिर्जना गर्न दिएको समय सीमा आज सकिंदैछ । तर, आन्दोलन हिंस्रक बन्दै गएसँगै शिक्षक सरकारविरुद्ध थप दबाब दिने रणनीतिमा देखिएका छन् ।