काठमाडौं । उपभोक्ता जागरण अभियान नेपालको पाँचौँ वार्षिक साधारणसभा तथा तेस्रो राष्ट्रिय अधिवेशनले कृष्णप्रसाद भण्डारी ‘मासिँली’को अध्यक्षतामा १५ सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ।
भक्तपुरको मध्यपुर थिमी–१, लोकन्थलीस्थित दिब्यश्वरी पार्टी प्यालेसमा सम्पन्न अधिवेशनबाट भण्डारी आगामी दुई वर्षका लागि अध्यक्षमा चयन भएका हुन्। नयाँ कार्यसमितिमा तीन उपाध्यक्ष, महासचिव, दुई सचिव, कोषाध्यक्ष, सहसचिवसहित विभिन्न सदस्य चयन भएका छन्।
कार्यक्रममा सञ्चारकर्मी तथा पूर्व कर्मचारी सेवा परिषद्का अध्यक्ष रामबाबु नेपाल प्रमुख अतिथि थिए। संस्थाका अध्यक्ष कृष्णप्रसाद भण्डारी ‘मासिँली’को सभापतित्वमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष रोहितकुमार दाहालले सञ्चालन गरेका थिए भने सहसचिव बद्री विशाल घिमिरेले स्वागत मन्तव्य राखेका थिए।
अधिवेशनमा महासचिव चिन्तामणि पराजुलीले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदन तथा कोषाध्यक्ष केशवप्रसाद चौलागाईँको आर्थिक प्रतिवेदन सर्वसम्मत पारित भएको छ।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सुशिलाकुमारी दवाडी सुवेदी, राजेन्द्रकुमार घिमिरे र रोहितकुमार दाहाल चयन भएका छन्। महासचिवमा चिन्तामणि पराजुली, सचिवमा शान्ता घिमिरे र बद्री विशाल घिमिरे, कोषाध्यक्षमा केशवप्रसाद चौलागाईँ तथा सहसचिवमा शेखर अधिकारी चयन भएका छन्। सदस्यमा सहदेवप्रसाद वास्तोला, मुरारी बस्ती, प्रेमप्रसाद घिमिरे, मोहनकाजी न्यौपाने, यज्ञ शर्मा र नीलकण्ठ तिवारी चयन भएका छन्।
अधिवेशनले उपभोक्ता हित, बजार अनुगमन तथा आपूर्ति व्यवस्थापनसँग सम्बन्धित विभिन्न निर्णयसमेत गरेको छ। मेचीनगर नगरसमितिको अध्यक्षमा रचना घिमिरेको नेतृत्वमा गठन भएको समितिलाई अनुमोदन गर्दै बधाई तथा शुभकामना दिइएको छ।
त्यस्तै, कार्यकाल पूरा भएका मोरङ र भक्तपुर जिल्ला कार्यसमितिको अधिवेशन यथाशीघ्र गर्न निर्देशन दिइएको छ। काठमाडौं जिल्ला संयोजक लोकबहादुर कटुवाल र ललितपुर जिल्ला संयोजक श्रीकृष्ण न्यौपानेलाई पनि छिटो जिल्ला कार्यसमिति गठन गर्न निर्देशन दिने निर्णय भएको छ।
नेपालीहरूका प्रमुख चाडपर्व नजिकिँदै गर्दा भोटेकोशीमा आएको बाढी र पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा भएको सडक अवरोधका कारण दैनिक उपभोग्य वस्तुको आपूर्ति प्रभावित हुनसक्ने भन्दै अधिवेशनले सरकारको ध्यानाकर्षण गराएको छ। यस्तो अवस्थामा कालोबजारी तथा कृत्रिम अभाव हुन नदिन प्रभावकारी बजार नियमन र सहज आपूर्ति व्यवस्थापन गर्न सरकारसँग माग गरिएको छ।
भोटेकोशी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै अधिवेशनले मृतकप्रति श्रद्धाञ्जली तथा शोकाकुल परिवारमा समवेदना प्रकट गरेको छ। प्रभावित क्षेत्रका नागरिकका लागि तत्काल उद्धार, राहत तथा पुनर्स्थापनाको व्यवस्था गर्न सरकारसँग आग्रहसमेत गरिएको छ।
अभियानले ‘जागरुक उपभोक्ता, जिम्मेवार विक्रेता’ भन्ने नारासहित निजी क्षेत्रका व्यवसायी, उपभोक्ता र नियामक सरकारी निकायबीच समन्वय गरी उपभोक्ता सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ।
अधिवेशनको समापनमा नवनिर्वाचित पदाधिकारीलाई अबिर तथा खादा लगाएर बधाई दिइएको थियो। नवनिर्वाचित अध्यक्ष कृष्णप्रसाद भण्डारी ‘मासिँली’ले प्रतिबद्धता मन्तव्यसहित धन्यवाद ज्ञापन गरेपछि कार्यक्रम सम्पन्न भएको थियो।



