Banner Nepal
बाढीपीडितको सहयोगमा जुट्यो नेपाली कम्युनिष्ट पार्टी दोलखा

दोलखा । नेपाली कम्युनिष्ट पार्टी जिल्ला कार्य संयोजन समिति दोलखाले भोटेकोशीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि विशेष अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। पार्टीले जिल्लाभित्रका जनप्रतिनिधिको १५ दिन बराबरको पारिश्रमिक राहतका लागि उपलब्ध गराउने तथा नेता, कार्यकर्ता र सर्वसाधारणबाट समेत राहत संकलन गरी प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय गरेको हो।

पार्टी संयोजक अशोक कुमार दाहालको अध्यक्षतामा चरिकोटस्थित जिल्ला पार्टी कार्यालयमा बसेको विस्तारित बैठकले बाढीका कारण ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै एक मिनेट मौनधारण गरेको थियो। बैठकले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बाढीबाट उत्पन्न समस्या, त्यसको नागरिक जीवनमा परेको प्रभाव, बेपत्ताको खोजी, पीडित तथा विस्थापितको राहत र पुनःस्थापनाका विषयमा छलफल गरेको जनाएको छ।

बैठकमा बागमती प्रदेशका सहसंयोजक भीम प्रसाद दाहाल, इन्चार्ज विशाल खड्का, केन्द्रीय सदस्यहरू शङ्कर लामा, महेन्द्र बहादुर कार्की र चुनु केसीलगायत पार्टीका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो।

बाढीका क्रममा दोलखाका स्थानीय नागरिकसमेत बेपत्ता भएको भन्दै उनीहरूको खोजी तथा उद्धारका लागि केन्द्र र जिल्लाबीच समन्वय गर्ने जिम्मेवारी केन्द्रीय सदस्य शङ्कर लामालाई दिइएको छ।

यसैगरी जिल्ला सहइन्चार्ज गोपाल न्यौपानेको संयोजकत्वमा सूचना सङ्कलन, खोज, उद्धार तथा राहत समन्वय समिति गठन गरिएको छ। समितिमा बर्जुरामा घतानी, होम पाठक, मोहन थापा र अप्सरा चौलागाईं सदस्य रहेका छन्।

बाढीका कारण बेपत्ता भएका दोलखावासीको यथार्थ विवरण सङ्कलन तथा राहत वितरणलगायतका काममा स्थानीय तहसँग समन्वय गर्न नौवटै पालिकामा छुट्टाछुट्टै समन्वय तथा सहजीकरण समिति गठन गरिएको पार्टीले जनाएको छ।

शैलुङ गाउँपालिकामा रिमालबाबु श्रेष्ठ, तामाकोसी गाउँपालिकामा प्रोण प्रताप केसी, गौरीशङ्कर गाउँपालिकामा विश्वास कार्की, विगु गाउँपालिकामा सञ्जीव ओली, कालिञ्चोक गाउँपालिकामा कुलबहादुर बुढाथोकी, भीमेश्वर नगरपालिकामा तारानाथ चौलागाईं, मेलुङ गाउँपालिकामा बैकुण्ठ भण्डारी, वैतेश्वर गाउँपालिकामा भुवन घिमिरे र जिरी नगरपालिकामा निमपल्दे शेर्पालाई संयोजक तोकिएको छ।

बैठकले बाढीपीडित तथा प्रभावित परिवारलाई उचित राहत उपलब्ध गराउन सम्बन्धित स्थानीय सरकारसँग अनुरोध गर्ने निर्णय पनि गरेको छ। राष्ट्रिय सभा सदस्य तथा जिल्ला सहइन्चार्ज घनश्याम रिजालको नेतृत्वमा राहत संकलन गरी प्रभावित क्षेत्रमा पठाउने व्यवस्था मिलाउने निर्णय गरिएको जनाइएको छ।

यसैबीच, बैठकले पछिल्लो समय बढ्दै गएका महिला हिंसाका घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै महिला सशक्तीकरण, जागरण र जनचेतना अभिवृद्धिका लागि उपयुक्त समयमा दोलखा जिल्लास्तरीय महिला हिंसाविरुद्ध सम्मेलन आयोजना गर्ने निर्णय गरेको छ।

पार्टीले जिल्लाका सबै जनसङ्गठनको एकता भेला आयोजना गर्नुका साथै जिल्ला स्तरमा विशेष सङ्गठनात्मक अभियान सञ्चालन गर्ने निर्णयसमेत गरेको जनाएको छ।

214c20fb-2486-4062-8876-290806a695b4-1788318140.jpg
 

प्रकाशित मिति: बुधबार, भदौ १७, २०८३  ०८:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update