काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत, पुनःस्थापना र पुनर्निर्माणका काम संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय गरेर एकीकृत रूपमा अघि बढाइने बताएका छन्।
विपद्को सुरुआती चरणमा तीन तहका सरकारबीच समन्वयमा केही कमजोरी भएको स्वीकार गर्दै मुख्यमन्त्री थापा मगरले अब त्यस्तो अवस्था दोहोरिन नदिने प्रतिबद्धता जनाएका छन्। प्रदेश सरकारले संघ, प्रदेश र स्थानीय तहबीच समन्वयकारी भूमिकासहित पुलको काम गर्ने उनको भनाइ छ।
मुख्यमन्त्री थापा मगरले तीनै तहका सरकारबीच देखिएको समन्वय अभाव हटाउँदै तत्कालदेखि एकीकृत रूपमा काम अघि बढाउने बताएका छन्।
यसैक्रममा उनी बाढी प्रभावित रसुवा पुगेर संघ र प्रदेशका सांसद तथा स्थानीय तहका प्रमुख र उपप्रमुखसँग बैठक गर्ने तयारीमा छन्। बैठकमार्फत प्रभावित क्षेत्रमा भइरहेका उद्धार, राहत तथा अन्य कामको समन्वयका लागि आवश्यक व्यवस्था मिलाइने बताइएको छ।
उनका अनुसार खाद्यान्न तथा अत्यावश्यक सामग्री वितरणदेखि उद्धार, पुनःस्थापना र पुनर्निर्माणसम्मका सबै काममा संघ, प्रदेश र स्थानीय तहको संयुक्त सहभागिता रहनेछ।
मुख्यमन्त्री थापाले विपद्को सुरुआती अवस्थाबाटै देखिएको समन्वयसम्बन्धी कमजोरी सच्याउँदै प्रभावित नागरिकलाई प्रभावकारी र व्यवस्थित सेवा उपलब्ध गराउने गरी तीन तहका सरकारलाई एकै ढाँचामा परिचालन गरिने बताएका छन्।


