काठमाडौं । बाढी र पहिरोका कारण देशका विभिन्न भागमा प्रमुख राजमार्गसहित अन्य सडकखण्ड अवरुद्ध भएका छन्। कोशी, बागमती र कर्णाली प्रदेशका विभिन्न क्षेत्रमा पहिरो खस्नुका साथै बाढीको जोखिम बढेपछि यातायात सञ्चालन प्रभावित भएको प्रहरीले जनाएको छ।
कोशी प्रदेशको इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्ग पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध रहेको छ। ताप्लेजुङ र झापा जोड्ने उक्त सडक बन्द भएपछि सवारीसाधनलाई वैकल्पिक मार्गबाट सञ्चालन गर्न थालिएको छ।
बागमती प्रदेशमा पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभिर र गजुरी गाउँपालिकास्थित परेवाभिरमा पहिरो खसेपछि सडक पूर्ण रूपमा बन्द भएको छ। अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ कोदारी क्षेत्रमा पनि पहिरोका कारण यातायात सञ्चालन हुन सकेको छैन।
रसुवामा आएको बाढीका कारण उत्तरगया गाउँपालिका–५ खाल्टेस्थित त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडकखण्ड तथा पासाङ ल्हामु राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन्।
यता कर्णाली प्रदेशको मुगुमा छायाँनाथ रारा नगरपालिका क्षेत्रअन्तर्गत झ्यारीखोला र टोक्ला क्षेत्रमा पहिरो खस्दा नाग्मदेखि मुगु गमगढीसम्म पुग्ने सडकखण्ड पनि पूर्ण रूपमा बन्द भएको छ।
अवरुद्ध सडक खुलाउने प्रयास विभिन्न स्थानमा जारी रहेको प्रहरीले जनाएको छ। मौसम र सडकको अवस्था प्रतिकूल रहेकाले यात्रा गर्नुअघि सडकको पछिल्लो अवस्थाबारे जानकारी लिन तथा विशेष सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरिएको छ।


