काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा जोड्ने मुख्य सडक अवरुद्ध भएपछि यात्रु तथा राहत सामग्री ढुवानीका लागि वैकल्पिक सडक प्रयोग गर्न थालिएको छ। मुख्य सडक तत्काल सञ्चालनमा आउने सम्भावना कम देखिएपछि वैकल्पिक मार्गबाट आवतजावत र राहत ढुवानी भइरहेको हो।
बाहुनबेँसी–छाप–लच्याङ–सरम्थली–पार्टीखर्क–फलाखोला पुल–घिचेट हुँदै धुन्चेसम्म पुग्ने वैकल्पिक सडक अहिले प्रभावित क्षेत्रमा राहत सामग्री पुर्याउने प्रमुख मार्ग बनेको छ।
तर, सडक अत्यन्त साँघुरो र चिप्लो भएकाले यात्रु तथा चालकले ठूलो सास्ती व्यहोर्नुपरेको छ। सडकको अधिकांश स्थानमा एक पटकमा एउटा मात्र सवारीसाधन सञ्चालन गर्न सकिने अवस्था रहेकाले राहत पुर्याएर फर्किने र प्रभावित क्षेत्रतर्फ जाने सवारीसाधनका कारण जामसमेत हुने गरेको छ।
विशेषगरी उकालो सडकमा गति लिन नसक्ने सवारीसाधन र ठूलो मात्रामा राहत सामग्री बोकेका ट्रकहरूलाई बढी समस्या भइरहेको छ। कुनै एउटा सवारीसाधन बिग्रिएमा वा उकालो चढ्न नसकेमा पछाडि रहेका अन्य सवारीसाधन घण्टौँसम्म रोकिनुपर्ने अवस्था सिर्जना हुने गरेको छ।
मुख्य सडक तत्काल सञ्चालनमा आउन नसक्ने अवस्था देखिएसँगै राहत वितरण र आवतजावत सहज बनाउन वैकल्पिक सडकको स्तरोन्नति तथा व्यवस्थापन तत्काल आवश्यक देखिएको छ।


