Banner Nepal
रसुवादेखि नुवाकोटसम्म उद्धार अभियान तीव्र, तीन हजारभन्दा बढी सुरक्षित

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा फसेका तीन हजारभन्दा बढी व्यक्तिको उद्धार गरिएको छ। गए रातिसम्म रसुवा र नुवाकोटका विभिन्न प्रभावित क्षेत्रबाट कुल तीन हजार २९ जनालाई सुरक्षित स्थानमा पुर्‍याइएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ।

उद्धार गरिएकामध्ये दुई हजार सात सय ७६ जना नेपाली नागरिक र दुई सय ५३ जना विदेशी नागरिक रहेका छन्। जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीका अनुसार पछिल्लो २४ घण्टामा मात्र ६ सय २४ जनाको उद्धार गरिएको हो।

बाढीबाट जोगिएर विभिन्न स्थानमा आश्रय लिइरहेका नागरिकलाई हेलिकप्टरमार्फत सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। यसैबीच, जलविद्युत् आयोजनाको सुरुङभित्र रहेका व्यक्तिहरूको उद्धार कार्य पनि सोमबार बिहानदेखि पुनः तीव्र पारिएको छ।

रसुवाको टिमुरे, स्याफ्रुबेँसी र मैलुङलगायतका क्षेत्रमा अझै मानिसहरू फसेको हुनसक्ने आशंकामा हेलिकप्टरमार्फत नियमित खोजी भइरहेको प्रमुख जिल्ला अधिकारी रेग्मीले बताएका छन्।

बाढीपछि सम्पर्कविहीन भएका व्यक्तिको खोजीका लागि परिवारजनबाट ठूलो संख्यामा निवेदनसमेत परेको छ। आइतबार अबेरसम्म एक हजार पाँच सयभन्दा बढी व्यक्तिका परिवारले आफ्ना सदस्य हराएको भन्दै खोजीका लागि निवेदन दिएका छन्।

हराइरहेका तथा बाढीमा फसेकाहरूको खोजी र उद्धारका लागि हेलिकप्टर, तालिमप्राप्त उद्धार कुकुर र ड्रोन क्यामेरासहित नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलको संयुक्त टोली परिचालन गरिएको प्रहरीले जनाएको छ। प्रभावित क्षेत्रमा अझै हजारौं व्यक्ति फसेको वा सम्पर्कविहीन रहेको आशंकाबीच खोज तथा उद्धार अभियान निरन्तर जारी छ।

 

प्रकाशित मिति: सोमबार, भदौ १५, २०८३  १०:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update