Banner Nepal
त्रिशूली जलविद्युत् आयोजनाको टनेल उद्धारमा चुनौती, सुरुङ पानीले भरियो

काठमाडौं । त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको टनेलभित्र फसेका व्यक्तिहरूको उद्धार प्रयास अझै सफल हुन सकेको छैन। उद्धारका लागि टनेलको माथिल्लो भाग अर्थात् ‘क्राउन ब्लास्ट’ गरी प्रवेश मार्ग खोल्ने प्रयास गरिए पनि उद्धारकर्मी भित्र पस्न नसकेका हुन्।

रास्वपाका सांसद विराजभक्त श्रेष्ठले सामाजिक सञ्जालमार्फत बिहान ३ बजेसम्म सुरुङको माथिल्लो भागमा प्वाल खोलिए पनि भित्र प्रवेश गर्ने प्रयास सफल नभएको जानकारी दिएका छन्। उनका अनुसार सुरुङको भित्री भाग पानीले भरिएकाले उद्धार कार्य थप जटिल बनेको छ।

घटनास्थलमा नेपाल विद्युत् प्राधिकरणका प्राविधिक विज्ञसहित नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी तथा अन्य उद्धारकर्मी परिचालन भएका छन्।

सुरुङभित्र प्रवेशका लागि अवरोध बनेका संरचना हटाउने काम सम्पन्न भए पनि उद्धार टोली अझै भित्र जान सकेको छैन। सुरुङभित्र फसेकाहरूको सुरक्षित उद्धारका लागि प्राविधिक तथा सुरक्षा निकायको संयुक्त प्रयास जारी रहेको छ।

 

प्रकाशित मिति: सोमबार, भदौ १५, २०८३  १०:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update