Banner Nepal
भोटेकोशी बाढीको असर, पाँच जिल्लाका १५ पालिका संकटग्रस्त क्षेत्र घोषित

काठमाडौं । सरकारले भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीबाट अत्यधिक प्रभावित पाँच जिल्लाका १५ स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ।

गृह मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँका प्रभावित स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको हो।

नेपाल–चीन सीमाक्षेत्रस्थित भोटेकोशीमा आएको भीषण बाढीका कारण ती जिल्लाका तल्लो तटीय क्षेत्रमा ठूलो क्षति पुगेपछि विशेष व्यवस्थासहित संकटग्रस्त क्षेत्र घोषणा गर्नुपरेको सरकारले जनाएको छ।

संकटग्रस्त क्षेत्र घोषणा गरिएका पालिकामा रसुवाका उत्तरगया गाउँपालिका, गोसाइँकुण्ड गाउँपालिका, कालिका गाउँपालिका र आमाछोदिङमो गाउँपालिका रहेका छन्।

त्यस्तै, नुवाकोटका विदुर नगरपालिका, बेलकोटगढी नगरपालिका, किस्पाङ गाउँपालिका र तारकेश्वर गाउँपालिका पनि संकटग्रस्त क्षेत्रको सूचीमा समावेश छन्।

धादिङका गल्छी गाउँपालिका, सिद्धलेक गाउँपालिका, गजुरी गाउँपालिका र बेनीघाट रोराङ गाउँपालिका, गोरखाको गण्डकी गाउँपालिका तथा तनहुँका देवघाट र आँबुखैरेनी गाउँपालिकालाई समेत विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएको छ।

सरकारले संकटग्रस्त क्षेत्र घोषणा गरेसँगै ती क्षेत्रमा राहत, उद्धार, पुनःस्थापना तथा पुनर्निर्माणका कामलाई प्राथमिकताका साथ अघि बढाउन कानुनी तथा प्रशासनिक रूपमा सहज हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: शनिबार, भदौ १३, २०८३  १०:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update