Banner Nepal
दुई दिनपछि खुल्यो काठमाडौं जोड्ने मुख्य मार्ग पृथ्वी राजमार्ग

काठमाडौं । बाढीका कारण अवरुद्ध भएको काठमाडौं जोड्ने मुख्य मार्ग पृथ्वी राजमार्ग दुई दिनपछि पुनः सञ्चालनमा आएको छ।

पृथ्वी राजमार्गअन्तर्गत गल्छीदेखि मलेखुसम्मको सडकखण्डमा थुप्रिएको लेदो हटाइएपछि यातायात आवागमन पुनः सुरु भएको हो।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार गल्छी–मलेखु सडकखण्डमा बाढीले थुपारेको लेदो पन्छाएर पहिलो चरणमा अत्यावश्यक सवारीसाधन सञ्चालन गर्न दिइएको छ।

राजमार्ग सञ्चालनमा आएपछि सडकमा अलपत्र परेका सवारीसाधनलाई सुरक्षित रूपमा गन्तव्यतर्फ पठाउन थालिएको मन्त्रालयले जनाएको छ।

बाढी र पहिरोका कारण विभिन्न स्थानमा सडक अवरुद्ध भएपछि काठमाडौं आउने–जाने यात्रु तथा सवारीसाधन प्रभावित भएका थिए। मुख्य सडक खुल्न थालेसँगै राजधानीसँगको सडक सम्पर्क क्रमशः सहज बन्दै गएको छ।

प्रकाशित मिति: शनिबार, भदौ १३, २०८३  ०९:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update