काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवाको धुन्चेमा अलपत्र परेका यात्रु, पर्यटक तथा सर्वसाधारणको स्थलमार्गबाट उद्धार सुरु गरिएको छ।
धुन्चेमा रोकिएका तीर्थयात्री, पर्यटक र अन्य सर्वसाधारणलाई वैकल्पिक मार्ग प्रयोग गरी काठमाडौं ल्याउने व्यवस्था बागमती प्रदेश सरकारले मिलाएको हो। उद्धार तथा आवतजावत व्यवस्थापनका लागि बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले समन्वय गरिरहेका छन्।
मुख्यमन्त्री थापाका अनुसार धुन्चेमा अलपत्र परेकाहरूलाई त्यहाँ आवश्यक खाना खुवाएर मोटरमार्फत महावीरसम्म ल्याइँदैछ। महावीरबाट करिब एक घण्टा पैदल यात्रा गरेपछि चौगडाबाट पुनः सवारीसाधनमार्फत काठमाडौं ल्याउने व्यवस्था गरिएको छ।
उद्धारको प्रतीक्षामा रहेका अलपत्र यात्रुका लागि प्रदेश सरकारले निःशुल्क बसको समेत व्यवस्था गरेको जनाएको छ।
बाढीका कारण मुख्य सडक अवरुद्ध भएपछि रसुवासहित प्रभावित क्षेत्रका सर्वसाधारणलाई वैकल्पिक मार्ग प्रयोग गरी काठमाडौं आवतजावत गर्न सक्ने व्यवस्था मिलाइएको छ। सडक सञ्चालनमा नआउँदासम्म यही मार्गमार्फत उद्धार तथा आवतजावतलाई निरन्तरता दिइने जनाइएको छ।


