काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि मृतकको संख्या लगातार बढ्दै गएको छ। पछिल्लो विवरणअनुसार बाढीले बगाएका ५५३ जनाको शव विभिन्न जिल्लाबाट फेला परेको नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ।
बाढी प्रभावित क्षेत्रबाट हालसम्म एक हजार ४७३ जनाको उद्धार गरिएको नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अबिनारायण काफ्लेले जानकारी दिएका छन्। उनका अनुसार रसुवाबाट ५७२ जना, नुवाकोटबाट ८९८ जना र धादिङबाट तीन जनाको उद्धार गरिएको हो।
बाढीमा घाइते भएकाहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने उपचारपछि ९७ जना घर फर्किएका छन्।
यसैबीच, बाढीपछि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपालका साथै भन्सार र अध्यागमन कार्यालयका केही कर्मचारीसमेत सम्पर्कविहीन भएका छन्। नेपाली सेनाका ४४ जना, नेपाल प्रहरीका २७ जना र सशस्त्र प्रहरी बल नेपालका १३ जना कर्मचारीको अवस्था अझै अज्ञात रहेको प्रहरीले जनाएको छ।
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालसहितका सुरक्षाकर्मीले सम्भावित क्षेत्रमा खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिएका छन्। शवको संख्या बढ्दै जाँदा मृतकको पहिचान र शव व्यवस्थापनसमेत चुनौतीपूर्ण बन्दै गएको छ।


