Banner Nepal
बागमतीमा आज किरण थापाले विश्वासको मत लिँदै, सत्ता गठबन्धनमै संकट

काठमाण्डौ / बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले आज प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन्। त्यसका लागि दिउँसो ४ बजे प्रदेशसभा बैठक बोलाइएको छ।

मुख्यमन्त्री थापाले यसअघि आइतबारदेखि नै विश्वासको मत लिने तयारी गरे पनि सत्ता गठबन्धनभित्र देखिएको असन्तुष्टि र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को आन्तरिक विवादका कारण प्रक्रिया अघि बढ्न सकेको थिएन। सोमबार पटकपटक बैठकको समय सारिएर राति ८ बजेका लागि तोकिए पनि निर्धारित समयमा बैठक बस्न नसकेपछि आजका लागि बैठक बोलाइएको हो।

विश्वासको मत लिनुअघि नै गठबन्धनमा असन्तुष्टि चर्किएको छ। सत्ता साझेदार नेकपाका सात सांसद सोमबारको बैठकमा अनुपस्थित भएपछि मुख्यमन्त्री थापा थप दबाबमा परेका छन्। मन्त्री नबनाइएको भन्दै युवराज चौलागाईं, रुकु चौलागाईं, उर्मिला लामा, गङ्गा नारायण श्रेष्ठ, लक्ष्मण लम्साल र कृष्ण खनालसहित सात सांसद काठमाडौँमा रहेको बताइएको छ।

मुख्यमन्त्री थापा एमाले नेतृत्वको सरकार बनाउन नेकपा र राप्रपाको समर्थनमा मुख्यमन्त्री बनेका हुन्। तर सरकार गठनमा सहयोग गरेका दुवै दलभित्र अहिले आन्तरिक विवाद देखिएको छ।

बागमती प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न मुख्यमन्त्री थापालाई ५३ सांसदको समर्थन आवश्यक छ। एमाले र नेकपाका सबै सांसदले पक्षमा मतदान गरे पनि आवश्यक संख्याभन्दा दुई मत कम हुने भएकाले राप्रपाका १२ सांसदमध्ये कम्तीमा नौ जनाको समर्थन आवश्यक पर्ने अवस्था छ।

राप्रपा केन्द्रले बागमती प्रदेशमा कुनै पक्षलाई समर्थन नगर्ने निर्णय गरेको भए पनि पार्टीका बागमती संसदीय दलका नेता उद्धव थापाले संसदीय दलको निर्णय भन्दै सरकारलाई समर्थन गरेपछि किरण थापा मुख्यमन्त्री बनेका थिए।

त्यसविरुद्ध राप्रपा बागमती प्रदेशकी सचेतक कुमारी तामाङले उच्च अदालत हेटौँडामा रिट दायर गरेकी छन्। अदालतले कारण देखाऊ आदेश जारी गर्दै भदौ १० गते छलफलका लागि बोलाएको छ।

रिटको टुंगो नलागेसम्म मुख्यमन्त्रीले विश्वासको मत लिन नहुने अडान नेपाली कांग्रेस र राप्रपा केन्द्रले राख्दै आएका छन्। यही विवादका कारण प्रदेशसभाको बैठक पटकपटक प्रभावित हुँदै आएको छ।

आजको विश्वासको मतमा नेकपाका असन्तुष्ट सांसदको उपस्थिति र राप्रपाका सांसदको निर्णयले मुख्यमन्त्री थापाको राजनीतिक भविष्य निर्धारण गर्ने देखिएको छ।

प्रकाशित मिति: मंगलबार, भदौ ९, २०८३  ११:००
प्रतिक्रिया दिनुहोस्
Weather Update