काठमाण्डौ / कर्णाली प्रदेश सरकारमा सहभागी हुने तीन मन्त्रीको नाममा सहमति जुटाउन नसकेपछि नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सात जना आकांक्षीको नाम पार्टी केन्द्रमा पठाएको छ। अब मन्त्री छनोटको अन्तिम जिम्मेवारी नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले पाउने भएका छन्।
नेकपा कर्णालीले सोमबार बिहानसम्म पनि तीन मन्त्रालयका लागि मन्त्रीको नाम टुंगो लगाउन नसकेपछि सात आकांक्षीको नाम केन्द्रमा पठाएको प्रदेश इन्चार्ज चन्द्रबहादुर शाहीले जानकारी दिए। केन्द्रबाट नाम फाइनल भएपछि मात्रै मन्त्री नियुक्तिको प्रक्रिया अघि बढ्ने उनको भनाइ छ।
मन्त्री नियुक्तिको तयारीस्वरूप सोमबार बिहान ११ बजे शपथ गराउने कार्यक्रम तय गरिएको थियो। प्रदेश प्रमुखको कार्यालयले समेत त्यसका लागि समय निर्धारण गरिसकेको थियो। तर नेकपाबाट मन्त्रीको नाम सिफारिस हुन नसकेपछि मुख्यमन्त्री मंगलबहादुर शाहीले शपथ कार्यक्रम स्थगित गर्न आग्रह गरेका थिए।
नेकपाभित्र विन्दमान विष्ट, मिलन खड्का र जुम्कित लामासहितका नेताहरू मन्त्री बन्ने चर्चामा थिए। तर आकांक्षीको संख्या बढेपछि पार्टीले प्रदेश तहबाटै नाम टुंग्याउन सकेन। यस क्रममा साबिक माओवादी र साबिक नेकपा एकीकृत समाजवादी धारबीच मन्त्री छनोटलाई लिएर रहेको मतभेदसमेत सतहमा आएको छ।
नेकपा र नेकपा एमालेबीच भएको सत्ता साझेदारीअनुसार कर्णालीमा नेकपाले मुख्यमन्त्रीसहित तीन मन्त्रालय पाएको छ। नेकपाको भागमा भौतिक पूर्वाधार तथा सहरी विकास, उद्योग–पर्यटन–वन तथा वातावरण तथा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय परेका छन्। एमालेबाट भने तीन मन्त्री यसअघि नै नियुक्त भइसकेका छन्।
मन्त्री छनोटमा भइरहेको ढिलाइका कारण मुख्यमन्त्री मंगलबहादुर शाही नेतृत्वको सरकार गठन भएको करिब एक महिना पुग्न लाग्दासमेत मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन। सरकार विस्तारमा भइरहेको ढिलाइले बजेट कार्यान्वयन तथा प्रदेश सरकारका नियमित कामकाजसमेत प्रभावित हुन सक्ने भन्दै आलोचना भइरहेको छ।


