काठमाडौँ । पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा पूर्वक्रिकेटर इमरान खानको स्वास्थ्य अवस्थालाई लिएर क्रिकेट जगतका २१ जना पूर्वकप्तानले पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफलाई पत्र लेखेका छन्।
पूर्वकप्तानहरूले इमरानलाई उचित स्वास्थ्य उपचार तथा आवश्यक चिकित्सा सुविधा उपलब्ध गराउन प्रधानमन्त्री शरीफसँग आग्रह गरेका छन्।
‘क्रिकइन्फो’का अनुसार पत्रमा पाकिस्तानको सर्वोच्च अदालतले इमरानलाई अस्पतालमा लगेर मेडिकल बोर्डमार्फत स्वास्थ्य परीक्षण गराउन दिएको निर्देशनसमेत उल्लेख गरिएको छ। अदालतले गठन गर्ने मेडिकल बोर्डमा इमरानका निजी चिकित्सक तथा उनकी बहिनी डा. उज्मा खानलाई समेत सहभागी गराउन आदेश दिएको थियो।
त्यस्तै अदालतले इमरानको परिवारसँग साप्ताहिक भेटघाटको व्यवस्था पुनः सुरु गर्न पनि निर्देशन दिएको थियो।
तर पूर्वकप्तानहरूले अदालतको आदेशअनुसार मेडिकल बोर्ड गठन नगरी इमरानलाई केही घण्टाका लागि मात्रै अस्पतालमा राखिएको दाबी गरेका छन्। उनीहरूको दाबीअनुसार सरकारले गठन गरेको चिकित्सकीय टोलीले स्वास्थ्य परीक्षण गरी इमरानलाई ‘चिकित्सकीय रूपमा स्वस्थ’ घोषणा गरेपछि पुनः अदियाला जेल पठाइएको थियो।
इमरानको स्वास्थ्यलाई लिएर पूर्वकप्तानहरूले यसअघि पनि प्रधानमन्त्री शरीफलाई पत्र लेखिसकेका छन्। गत फेब्रुअरी १४ मा १४ जना पूर्वकप्तानले उनको स्वास्थ्य अवस्थाप्रति चिन्ता व्यक्त गर्दै पहिलो पत्र पठाएका थिए।
त्यतिबेला इमरानको परिवारले आँखाको समस्याका कारण उनको एउटा आँखाको दृष्टि लगभग पूर्ण रूपमा गुमेको र जेलमा आवश्यक उपचार उपलब्ध नभएको दाबी गरेको थियो।
यसपटक पत्र लेख्ने २१ पूर्वकप्तानमा माइकल एथर्टन, एलेक्स ब्ल्याकवेल, एलन बोर्डर, माइकल ब्रियरली, ग्रेग च्यापेल, इयान च्यापेल, बेलिन्डा क्लार्क, एलेस्टर कुक, सुनील गावस्कर, ली जर्मन, एडम गिलक्रिस्ट, डेभिड गावर, किम ह्युजेस, नासिर हुसेन, क्लाइभ लोयड, कपिल देव, अर्जुना रणतुंगा, एन्ड्र्यु स्ट्रस, दिलीप भेङ्सरकर, स्टिभ व र जोन राइट छन्।


