देशभर यस वर्ष धान रोपाइँको काम तीव्र गतिमा अघि बढेको छ। कृषि विभागका अनुसार धानखेतीका लागि योग्य कुल क्षेत्रफलमध्ये हालसम्म ९८ प्रतिशत जमिनमा रोपाइँ सम्पन्न भएको छ।
गत वर्षको यही अवधिमा ९६.०८ प्रतिशत क्षेत्रमा मात्रै रोपाइँ भएको थियो। यस वर्ष रोपाइँको दर झण्डै २ प्रतिशतले बढेको हो। विभागका अनुसार देशभर हालसम्म १३ लाख ४१ हजार ७ सय ६४ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सकिएको छ।
प्रदेशगत रूपमा हेर्दा सुदूरपश्चिम प्रदेश रोपाइँमा अगाडि देखिएको छ। त्यहाँ धान खेतीयोग्य १ लाख ५४ हजार ९ सय ५० हेक्टर क्षेत्रमै रोपाइँ सम्पन्न भई शतप्रतिशत काम सकिएको छ।
कर्णाली प्रदेशमा ९८.५० प्रतिशत, मधेशमा ९८.१० प्रतिशत र लुम्बिनीमा ९७.८७ प्रतिशत क्षेत्रमा रोपाइँ सकिएको छ। मधेशमा भने गत वर्षको तुलनामा उल्लेख्य सुधार देखिएको छ। गत वर्ष यही अवधिमा मधेशमा ८६.३५ प्रतिशत क्षेत्रमा मात्रै रोपाइँ भएको थियो।
त्यस्तै बागमती प्रदेशमा ९७.८२ प्रतिशत, कोशीमा ९७ प्रतिशत र गण्डकीमा ९६.६८ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको विभागले जनाएको छ।
विभागका अनुसार समयमै मनसुन सक्रिय हुनु र कृषि प्रसारका गतिविधि प्रभावकारी रूपमा सञ्चालन हुनु यस वर्ष रोपाइँको दर बढ्नुका प्रमुख कारण हुन्। समयमै रोपाइँ सम्पन्न हुँदा धान उत्पादनमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।


