स्थानीय बजारमा आइतबार सुनको मूल्य प्रतितोला २ हजार ८ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला ३ लाख १९ हजार ५ सय रुपैयाँ कायम भएको छ।
गत शुक्रबार छापावाल सुन प्रतितोला ३ लाख १६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो। यस आधारमा एकैदिन सुनको मूल्य २ हजार ८ सय रुपैयाँले बढेको हो।
यसैबीच चाँदीको मूल्य भने सामान्य घटेको छ। असली चाँदी प्रतितोला १० रुपैयाँले घटेर ४ हजार ९ सय ७५ रुपैयाँमा कायम भएको छ। शुक्रबार चाँदी प्रतितोला ४ हजार ९ सय ८५ रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा पनि सुन उच्च मूल्यमा कारोबार भइरहेको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आइतबार एक औँस सुन ४ हजार ६ सय २३ अमेरिकी डलर तथा चाँदी ६९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।


