Banner Nepal
निरन्तर वर्षाले ताप्लेजुङका ग्रामीण सडक हिलाम्मे, यातायात सञ्चालन सकसपूर्ण

ताप्लेजुङमा लगातार भइरहेको वर्षाका कारण ग्रामीण सडकको अवस्था बिग्रिँदा यातायात सञ्चालन कठिन बनेको छ। नयाँ ट्रयाक खोलिएका तथा भर्खरै निर्माण गरिएका कच्ची सडक हिलाम्मे हुनुका साथै ठाउँ–ठाउँमा खाल्डाखुल्डी परेपछि सवारी साधन सञ्चालनमा समस्या भएको हो।

जिल्लाका अधिकांश ग्रामीण सडक नयाँ ट्रयाक निर्माण गरिएका छन्। कतिपय सडकमा स्तरोन्नतिका लागि ब्याक कटिङको कामसमेत भइरहेकाले वर्षा भएपछि सडक थप हिलाम्मे बनेका छन्। पुराना सडक सञ्चालनमा रहे पनि नयाँ ट्रयाक भएका ग्रामीण सडकमा सवारी साधन चलाउन निकै कठिन भएको यातायात व्यवसायी बताउँछन्।

पाँचथरको थर्पु–बरडाँडा हुँदै ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाका विभिन्न वडा जोड्ने सडकमा अहिले यातायात सञ्चालन चुनौतीपूर्ण बनेको छ। बरडाँडा–साब्लाखु सडकखण्डमा हालै ब्याक कटिङ गरिएकाले वर्षाका कारण सडकमा हिलो बढेको चालकहरूले बताएका छन्।

सिदिङ्वा गाउँपालिकाका साब्लाखु, आङ्खोप, सादेवा, कालिखोला, लिम्बुदिन, मेहेले र सुरुम्खिम जोड्ने अधिकांश सडक नयाँ ट्रयाक भएकाले पानी पर्दा हिलाम्मे हुने र खाल्डाखुल्डी पर्ने गरेको बताइएको छ। सवारी साधन हिलोमा फस्ने तथा बिग्रिने समस्या बढेपछि चालक र यात्रु दुवै हैरानीमा छन्।

त्यस्तै सिरिजङ्घा, फक्ताङ्लुङ, मिक्वाखोला र मैवाखोला गाउँपालिकाका नयाँ ट्रयाक निर्माण गरिएका ग्रामीण सडकमा पनि यातायात सञ्चालन प्रभावित भएको छ। कतिपय सडक वर्षाका कारण पूर्णरूपमा अवरुद्ध भएको व्यवसायीहरूको भनाइ छ।

सडकको अवस्थाका कारण यात्रुहरू समयमै गन्तव्यमा पुग्न नसक्दा नियमित कामसमेत प्रभावित भएको छ। हिलाम्मे र खाल्डाखुल्डी सडकमा सवारी चलाउँदा सवारी साधनमा क्षति पुग्ने र मर्मत खर्च बढ्ने समस्या पनि देखिएको यातायात व्यवसायीहरूको भनाइ छ।

वर्षा निरन्तर भइरहेकाले मौसममा सुधार नआएसम्म ग्रामीण सडकमा यातायात सञ्चालन सहज हुने अवस्था नरहेको व्यवसायीहरूले बताएका छन्।

प्रकाशित मिति: आइतबार, भदौ ७, २०८३  १३:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update