Banner Nepal
तीजको सांस्कृतिक रौनक समेट्दै पूजन काफ्लेले ल्याइन् नयाँ गीत

तीज नजिकिँदै जाँदा नेपाली सांगीतिक क्षेत्रमा नयाँ तीज गीत सार्वजनिक हुने क्रम बढेको छ। यसै क्रममा गायिका तथा गीतकार पूजन काफ्लेले आफ्नै शब्द र स्वरमा तयार पारेको नयाँ तीज गीत ‘तीजको लहर आउँदा बरिलै’ म्युजिक भिडियोसहित सार्वजनिक गरेकी छन्।

गीतमा तीजको सांस्कृतिक रौनकसँगै माइतीको सम्झना, दिदीबहिनीबीचको आत्मीयता, दर खाने परम्परा, नाचगान र नेपाली महिलाको उत्साहलाई प्रस्तुत गरिएको छ। तीज पर्वसँग जोडिएका मौलिक सामाजिक तथा सांस्कृतिक पक्षलाई आधुनिक सांगीतिक प्रस्तुतिमार्फत दर्शक–श्रोतामाझ पुर्‍याउने प्रयास गीतमा गरिएको छ।

गीतमा पूजन काफ्लेको शब्द तथा स्वर, जीआर बानियाँको संगीत र सन्तोष प्रगाढको संगीत संयोजन रहेको छ। सञ्जय श्रीपालले मिक्सिङ तथा मास्टरिङ गरेका छन् भने रेकर्डिङ मुर्चुङ्गा डिजिटलमा गरिएको हो।

म्युजिक भिडियोमा बीना राउत मुख्य कलाकारका रूपमा देखिएकी छन्। उनको साथमा यज्ञबहादुर काफ्ले, मैयादेवी काफ्ले, भीम थापा, दर्पण भुजेल, समीक्षा केसी र रोशनी बरालले अभिनय तथा नृत्य गरेका छन्। भिडियोको निर्देशन तथा नृत्य संयोजन शिवन पोखरेलले गरेका छन्।

भिडियोमा तीजको सामूहिक उल्लास, परम्परागत वातावरण, नाचगान र नेपाली सांस्कृतिक परिवेशलाई प्राथमिकता दिइएको छ। छायांकन दिपाल गिरीले गरेका छन् भने मिलन विश्वकर्माले सम्पादन तथा रङ संयोजन गरेका छन्।

गायनसँगै गीत लेखनमा समेत सक्रिय पूजन काफ्लेले यसअघि नवौँ राष्ट्रिय राजधानी अवार्डमा उत्कृष्ट आधुनिक महिला गायिकाको सम्मान प्राप्त गरेकी छन्। ‘चुपचाप’ गीतका लागि हिमालयन अन्तर्राष्ट्रिय अवार्डमा उत्कृष्ट गायिकाको सम्मानसमेत पाएकी काफ्लेले यसपटक तीजलाई सिर्जनाको विषय बनाएकी हुन्।

‘तीजको लहर आउँदा बरिलै’ गीत तथा म्युजिक भिडियो पूजन काफ्ले अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।

प्रकाशित मिति: मंगलबार, साउन २६, २०८३  १४:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update