काठमाडौं । साउन महिनाको तेस्रो सोमबारका अवसरमा देशभरका शिवालयमा बिहानैदेखि भक्तजनहरूको उल्लेखनीय भीड लागेको छ। विशेषगरी काठमाडौंको सुन्दरीजलमा बोलबम भक्तजनहरूको ठूलो उपस्थिति देखिएको छ।
काठमाडौं उपत्यकासहित तराईका विभिन्न जिल्ला तथा भारतका विभिन्न स्थानबाट आएका श्रद्धालुहरू बिहानैदेखि सुन्दरीजल पुगेका छन्। उनीहरूले सुन्दरीजलमा स्नान गरी कलशमा जल भरेपछि भगवान् शिवको जयजयकार गर्दै पदयात्रामार्फत पशुपतिनाथ मन्दिरतर्फ प्रस्थान गरेका छन्।
साउन महिनामा भगवान् शिवको विशेष पूजा–आराधना गर्ने धार्मिक परम्पराअनुसार प्रत्येक सोमबार सुन्दरीजलबाट जल ल्याई पशुपतिनाथमा चढाउने चलन रहिआएको छ। यही परम्परालाई निरन्तरता दिँदै आज पनि हजारौँ भक्तजन जल अर्पणका लागि पशुपतिनाथ पुगेका छन्।
यसैबीच, देशभरका अन्य प्रमुख शिवालयमा पनि बिहानैदेखि दर्शन र पूजाआजाका लागि श्रद्धालुहरूको घुइँचो लागेको छ।


