काठमाडौं । लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशभरका दर्जनौँ राजमार्ग तथा सडक खण्ड प्रभावित भएका छन्। काठमाडौं उपत्यकासहित कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका विभिन्न स्थानमा सडक अवरुद्ध हुँदा यातायात सेवा प्रभावित बनेको छ।
ललितपुरको बागमती गाउँपालिकामा पहिरो खसेपछि कान्ति लोकपथ पूर्ण रूपमा बन्द भएको छ। कोशी प्रदेशको भोजपुरस्थित बोखिममा मध्यपहाडी लोकमार्ग अझै सञ्चालनमा आउन सकेको छैन। इलामको राजदुवाली क्षेत्रमा मेची राजमार्ग अवरुद्ध भए पनि वैकल्पिक मार्ग प्रयोगमा ल्याइएको छ भने तेह्रथुमको लालिगुराँस नगरपालिका–काँडे क्षेत्रमा पहिरोका कारण मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा बन्द छ।
यस्तै, सिन्धुपाल्चोकको चारकिलो र कोदारी क्षेत्रमा पहिरो पन्छाउन नसक्दा अरनिको राजमार्ग अवरुद्ध छ। रसुवाको उत्तरगया–खाल्टे क्षेत्रमा त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडक खण्ड पनि बन्द रहेको प्रहरीले जनाएको छ।
गण्डकी प्रदेशमा गोरखाको लार्के–बेनीघाट कच्ची सडक, मनाङको चामे–बेँसीसहर सडक, बेनी–जोमसोम तथा बेँसीसहर–मनाङ सडक खण्डसमेत पूर्ण रूपमा अवरुद्ध भएका छन्। कर्णाली प्रदेशको रुकुम पश्चिममा रिजेगार्ड खोलाको बाढीले भेरी करिडोर सडक बगाएपछि जाजरकोट–डोल्पा सडक सम्पर्क विच्छेद भएको छ।
उता, मुग्लिन–नारायणगढ सडकको नाम्सी नयाँ पुल क्षेत्रमा ढुंगा खस्दा यातायात एकतर्फी सञ्चालन गरिएको छ। पृथ्वी राजमार्गमा पनि ढुंगा खसेपछि सो सडकखण्डमा सवारी साधन एकतर्फी मात्र सञ्चालन भइरहेको छ।


