Banner Nepal
अन्तर्राष्ट्रिय बजारमा तेल सस्तो हुँदा नेपालमा फेरि इन्धनको मूल्यवृद्धि
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ। निगमले गएरातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको नयाँ मूल्य निर्धारण गरेको हो।

बढेको मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ, डिजेल तथा मट्टितेलमा प्रतिलिटर ५ रुपैयाँ र हवाई इन्धनमा प्रतिलिटर २० रुपैयाँ वृद्धि गरिएको निगमले जनाएको छ। एलपी ग्यासको मूल्य भने यथावत् राखिएको छ।

नयाँ मूल्यसूचीअनुसार काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा पेट्रोल तथा डिजेलको मूल्य प्रतिलिटर २०० रुपैयाँ पुगेको छ। यस्तै, सुर्खेत र दाङमा प्रतिलिटर १९९ रुपैयाँ कायम गरिएको छ भने चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, धनगढी र वीरगञ्जमा प्रतिलिटर १९७ रुपैयाँ ५० पैसा निर्धारण गरिएको छ।

यता अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य भने घट्दो क्रममा रहेको छ। अमेरिकाले इरानमाथिको सैन्य आक्रमण रोक्ने संकेत दिएपछि मध्यपूर्वको तनाव केही कम हुने अपेक्षासँगै कच्चा तेलको मूल्य करिब ४ प्रतिशतले घटेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। यस्तो अवस्थामा अन्तर्राष्ट्रिय बजारमा मूल्य घटे पनि नेपालमा भने इन्धनको मूल्य वृद्धि गरिएको हो।

प्रकाशित मिति: सोमबार, साउन १८, २०८३  १०:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update