काठमाडौँ। झापामा जङ्गली हात्तीबाट सर्वसाधारणको जीउधनको सुरक्षा सुनिश्चित गर्न विशेष सुरक्षा टोली ‘स्पेसल टास्क फोर्स’ परिचालन गर्ने तयारी गरिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निर्देशनपछि यसको गठन प्रक्रिया अघि बढाइएको जनाइएको छ।
झापा निर्वाचन क्षेत्र नं. १ की प्रतिनिधिसभा सदस्य निशा डाँगीका अनुसार प्रधानमन्त्री कार्यालयले सम्बन्धित निकायलाई आवश्यक प्रक्रिया अघि बढाउन निर्देशन दिइसकेको छ। अब प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा आवश्यक समन्वय गरी टास्क फोर्स परिचालनको व्यवस्था मिलाइनेछ।
गत साता मेचीनगर नगरपालिका–४ मा ६२ वर्षीया पद्मा पौडेलको हात्तीको आक्रमणबाट ज्यान गएपछि स्थानीयवासीले सुरक्षा व्यवस्था सुदृढ बनाउन सरकारसँग माग गर्दै आएका छन्। उक्त घटनापछि सांसद डाँगी र राष्ट्रियसभा सदस्य रोशनी मेचेले संसद्मार्फत सरकारको ध्यानाकर्षण गराएका थिए।
प्रस्तावित टास्क फोर्समा सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा सशस्त्र वन रक्षकलाई समावेश गर्ने योजना रहेको छ। टोलीलाई विशेष गरी हात्ती नेपाल प्रवेश गर्ने मुख्य मार्ग मानिएको मेचीनगरको सीमावर्ती बाहुनडाँगी क्षेत्रमा परिचालन गरिने बताइएको छ।
भारतको आसाम र पश्चिम बङ्गाल क्षेत्रबाट आउने जङ्गली हात्तीका बथानहरू नियमित रूपमा बाहुनडाँगी हुँदै नेपाल प्रवेश गर्ने गरेका छन्। कतिपय अवस्थामा ३० देखि १०० वटासम्म हात्ती एकैपटक प्रवेश गर्दा स्थानीय बासिन्दा त्रसित हुने गरेका छन्।
टास्क फोर्समा कति संख्यामा सुरक्षाकर्मी रहने भन्ने विषय टुङ्गो लागिसकेको छैन। यद्यपि करिब ५० जना सुरक्षाकर्मीको माग गरिएको र प्रारम्भिक चरणमा तालिमप्राप्त कम्तीमा १० जनाको टोली परिचालन गर्न सकिने सुझाव आएको सांसद डाँगीले बताएकी छन्।
मेचीनगरका स्थानीयवासी तथा जनप्रतिनिधिहरूले विशेष सुरक्षा टोली परिचालनको योजनालाई सकारात्मक रूपमा लिएका छन्। उनीहरूले हात्ती नियन्त्रणका लागि अनुभवी तथा विशेष तालिमप्राप्त सुरक्षाकर्मी खटाउनुपर्नेमा जोड दिएका छन्।


