काठमाडौँ। विद्युतीय मेसिन रिडेबल पासपोर्ट (ई–पासपोर्ट) खरिद प्रक्रियासम्बन्धी अनियमितताको अनुसन्धान गरिरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्झौतामा आबद्ध जर्मन कम्पनीका आधिकारिक प्रतिनिधिहरूलाई बयानका लागि उपस्थित हुन आह्वान गरेको छ।
आयोगले बिहीबार सार्वजनिक सूचनामार्फत ई–पासपोर्ट खरिदका दुई अलग–अलग प्याकेजमा संलग्न जर्मनीका कम्पनी मुलबाउर र भेरिडोस का प्रतिनिधिलाई बयानका लागि बोलाएको हो। आयोगले उनीहरूलाई टंगालस्थित केन्द्रीय कार्यालय वा भर्चुअल माध्यममार्फत तोकिएको अवधिभित्र उपस्थित हुन निर्देशन दिएको छ।
पहिलो प्याकेजअन्तर्गत प्रि–एनरोलमेन्ट, एनरोलमेन्ट, डाटा व्यवस्थापन तथा डेलिभरी प्रणालीसम्बन्धी सम्झौतामा मुलबाउर आईडी सर्भिसेजका प्रतिनिधि गेरहार्ड माउर र पाभ्ले राकिकले हस्ताक्षर गरेका थिए। त्यस्तै दोस्रो प्याकेजअन्तर्गत गुणस्तर नियन्त्रण तथा प्याकिङ प्रणालीसम्बन्धी सम्झौतामा भेरिडोसका प्रतिनिधि फेबियोला बेलरशेम र फ्लोरियन पास्क्लिन सहभागी रहेका थिए।
आयोगले सार्वजनिक सूचनामै ती प्रतिनिधिहरूको नाम र विवरण उल्लेख गर्दै बयानका लागि उपस्थित हुन भनेको छ। यसअघि इमेलमार्फत पनि सम्बन्धित पक्षलाई जानकारी गराइसकिएको आयोगले जनाएको छ। सूचनामा निर्धारित समयसीमा खुलाइएको छैन, तर अनुपस्थित रहे कानुनबमोजिम थप प्रक्रिया अघि बढाइने चेतावनी दिइएको छ।
यसअघि राहदानी खरिद प्रक्रियामा अनियमितता भएको आशंकामा अख्तियारले राहदानी विभागका तत्कालीन महानिर्देशक तीर्थराज अर्याल र निर्देशक सुनिल केसीलाई असार २ गते नियन्त्रणमा लिएको थियो।

ई–पासपोर्ट खरिद विवाद के हो?
राहदानी विभागले मंसिर २०८१ मा पाँच वर्षका लागि ६४ लाख थान ई–पासपोर्ट खरिद गर्न बोलपत्र आह्वान गरेको थियो। उक्त बोलपत्रका केही प्रावधान निश्चित कम्पनीलाई लाभ पुग्ने गरी राखिएको आरोप लागेपछि प्रक्रिया विवादमा तानिएको थियो।
प्रतिस्पर्धा सीमित गरिएको दाबी गर्दै विभिन्न कम्पनी तथा सरोकारवालाले अख्तियार, सार्वजनिक खरिद अनुगमन कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा उजुरी दिएका थिए।
विवादकै बीच राहदानी विभागले करिब ६ अर्ब ११ करोड रुपैयाँ र १ अर्ब ५५ करोड रुपैयाँका दुई छुट्टाछुट्टै प्याकेजमा ठेक्का सम्झौता गरेको थियो। अनुसन्धानका क्रममा केही राजनीतिक व्यक्तित्व, व्यवसायी तथा उच्च प्रशासनिक तहका व्यक्तिहरूको सम्भावित भूमिकाबारे समेत उजुरीहरू परेको बताइएको छ। यद्यपि, ती आरोपहरूको आधिकारिक पुष्टि भने भइसकेको छैन।


