Banner Nepal
सीमावर्ती विवादपछि लाम्पाटाको सुरक्षा व्यवस्थामा थप सुदृढीकरण

काठमाडौँ। बाजुराको हिमाली गाउँपालिका–स्थित लाम्पाटामा स्थापना गरिएको अस्थायी संयुक्त सुरक्षा वेशका लागि आवश्यक बन्दोबस्ती सामग्री पुर्‍याइएको छ। सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय, हल्चोकबाट पठाइएका सामग्री बाजुरास्थित गुल्ममार्फत बुधबार बिहान हेलिकोप्टर प्रयोग गरी लाम्पाटा ढुवानी गरिएको हो।

उक्त क्षेत्रमा गत जेठ ३१ गते सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीको संयुक्त अस्थायी सुरक्षा वेश स्थापना गरिएको थियो। सो सुरक्षा व्यवस्थाको अवस्थाबारे जानकारी लिन तथा आवश्यक निर्देशन दिन नं. ७ बैद्यनाथ बाहिनी मुख्यालयका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक दिग्विजय सुवेदी लाम्पाटा पुगेका थिए।

सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार त्यहाँ तैनाथ सुरक्षाकर्मीको गतिविधिको अनुगमन, निर्देशन तथा आवश्यक समन्वय मुख्यालयबाटै गरिने व्यवस्था मिलाइएको छ। सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा रहेको टोली जेठ २७ गते नै त्यस क्षेत्रमा परिचालन गरिएको थियो।

पछिल्ला केही दिनदेखि उक्त क्षेत्रमा बाजुरा र हुम्लाका बासिन्दाबीच सामान्य विवाद देखिएपछि सुरक्षा उपस्थिति थप प्रभावकारी बनाइएको जनाइएको छ।

प्रकाशित मिति: बिहीबार, असार ४, २०८३  ०८:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update