Banner Nepal
‘क्लाइमाक्लेभ १.०’ मा हरित कर र लगानी विस्तार गर्न जोड

काठमाण्डौ, २५ जेठ — जलवायु परिवर्तनबाट उत्पन्न चुनौतीको सामना गर्दै दिगो आर्थिक समृद्धि हासिल गर्न हरित कर, जलवायु वित्त र हरित लगानीको दायरा विस्तार गर्नुपर्नेमा राजनीतिक नेतृत्व, विज्ञ तथा सामाजिक क्षेत्रका प्रतिनिधिहरूले जोड दिएका छन्।

सहारा नेपालले आयोजना गरेको ‘क्लाइमाक्लेभ १.० : शेयर द स्कोप, रेज द होप’ कार्यक्रममा सहभागी वक्ताहरूले जलवायु वित्त, कार्बन बजार, हरित लगानी, समुदायमा आधारित समाधान, दिगो विकास तथा नवप्रवर्तनका क्षेत्रमा बहुपक्षीय सहकार्यलाई सुदृढ बनाउनुपर्ने आवश्यकता औंल्याए।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य सुशील खड्काले आगामी आर्थिक वर्षको बजेट विगतको तुलनामा फरक दृष्टिकोणसहित आएको उल्लेख गर्दै आगामी पाँचदेखि सात वर्षभित्र वार्षिक सात प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य राखिएको बताउनुभयो। कृषि, तराई तथा मध्यपहाडी क्षेत्रमा लगानी वृद्धि गरेर अर्थतन्त्र विस्तार गर्न सकिने विश्वास व्यक्त गर्दै उहाँले किसानलाई सम्मानजनक जीवनयापनको आधार सुनिश्चित गर्नुपर्ने धारणा राख्नुभयो। सरकारी बजेट मात्र पर्याप्त नहुने भएकाले निजी क्षेत्र, सहकारी र समुदायको लगानीलाई समेत प्रोत्साहन गर्नुपर्ने उहाँको भनाइ थियो।

पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले जलवायु सङ्कटको प्रभाव न्यूनीकरणका लागि ज्ञान, नीति तथा कानुनी संरचनामा लगानी बढाउनुपर्ने आवश्यकता औंल्याउनुभयो। लगानी र बजेट परिचालन गर्दा अपेक्षित परिणाम स्पष्ट रूपमा निर्धारण गर्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो।

नेपाल राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलले हरित वित्तीय प्रणाली र हरित लगानी संरचनाको विकास आवश्यक रहेको बताउँदै अन्तर्राष्ट्रिय जलवायु कोषबाट प्राप्त हुने लगानी नेपालजस्ता न्यून कार्बन उत्सर्जन गर्ने मुलुकमा बढाउनुपर्ने धारणा व्यक्त गर्नुभयो।

ऊर्जा विज्ञ डा. रामप्रसाद धितालले स्वच्छ तथा वैकल्पिक ऊर्जा क्षेत्रमा लगानी र प्रयोग विस्तार गर्न सके आयात निर्भरता घट्नुका साथै राष्ट्रिय समृद्धिमा सकारात्मक योगदान पुग्ने बताउनुभयो।

सहारा नेपालका महासचिव महेन्द्र गिरीले जलवायु परिवर्तनको दीर्घकालीन समाधानका लागि सरकार, निजी क्षेत्र, विकास साझेदार र स्थानीय समुदायबीच प्रभावकारी सहकार्य अपरिहार्य रहेको उल्लेख गर्नुभयो।

संस्थाका कार्यक्रम निर्देशक युवराज शिवाकोटीले झापा, नुवाकोट, रसुवा, कैलाली, कञ्चनपुर, जुम्ला, कालीकोट र पर्सालगायत जिल्लामा कृषि क्षेत्रमार्फत जलवायु अनुकूलन र दिगो व्यवस्थापनका कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिनुभयो।

कार्यक्रममा सहभागी कञ्चनपुरका किसान प्रकाश सार्की र कैलालीका किसान डम्बर योगीले सहारा नेपालबाट प्राप्त उन्नत फलफूल तथा बालीका बिरुवा, माटो परीक्षण सेवा र प्राविधिक सहयोगले उत्पादन वृद्धि तथा आत्मनिर्भरता बढाउन सहयोग पुगेको अनुभव सुनाउनुभयो।

प्रकाशित मिति: सोमबार, जेठ २५, २०८३  १६:००
प्रतिक्रिया दिनुहोस्
Weather Update