Banner Nepal
व्यवसायी देवेन्द्र लुइँटेलले भने– वैदेशिक रोजगार क्षेत्रको सुधारका लागि भुर्तेल नेतृत्व आवश्यक

काठमाडौँ। नेपाल वैदेशिक रोजगार व्यवसायी संघको भोलि हुने निर्वाचनलाई लक्षित गर्दै युवा व्यवसायी देवेन्द्रप्रसाद लुइँटेलले अध्यक्ष पदका उम्मेदवार मेघनाथ भुर्तेललाई विजयी बनाउन सम्पूर्ण व्यवसायीहरूलाई आग्रह गरेका छन्।

लुइँटेलले वैदेशिक रोजगार क्षेत्रलाई थप व्यवस्थित, पारदर्शी, प्रविधिमैत्री तथा व्यवसायमैत्री बनाउने स्पष्ट कार्ययोजनासहित भुर्तेल नेतृत्व चुनावी मैदानमा उत्रिएको उल्लेख गर्दै त्यसलाई समर्थन गर्न सबै व्यवसायीसमक्ष अनुरोध गरेका हुन्। उनका अनुसार भुर्तेलले सार्वजनिक गरेको ९ बुँदे प्रतिबद्धतापत्रले वैदेशिक रोजगार क्षेत्रको सुधार, व्यवसायीको हकहित संरक्षण तथा श्रमिक सुरक्षालाई केन्द्रमा राखेको छ।

‘सुरक्षित वैदेशिक रोजगार, सिपसहितको श्रमिक, सम्मानजनक व्यवसाय र समृद्ध राष्ट्र’ भन्ने मूल नारासहित सार्वजनिक गरिएको एजेन्डामा नीतिगत सुधार, पूर्ण डिजिटल प्रणालीको विकास, सिण्डिकेट अन्त्य, व्यवसायमैत्री वातावरण निर्माण, श्रमिक सुरक्षा तथा सीप विकास, नयाँ श्रम बजार विस्तार, अवैध गतिविधिमाथि नियन्त्रण, त्रिपक्षीय सहकार्य तथा फ्री भिसा–फ्री टिकट नीतिको पुनरावलोकनजस्ता विषय समेटिएका छन्।

वैदेशिक रोजगार क्षेत्र अहिले विभिन्न चुनौतीबाट गुज्रिरहेको उल्लेख गर्दै लुइँटेलले अनुभवी, दूरदर्शी र व्यवसायीका समस्याप्रति संवेदनशील नेतृत्वको आवश्यकता औँल्याए। उनले भुर्तेलले अघि सारेका एजेन्डाले व्यवसायी, श्रमिक र सरकारबीचको समन्वयलाई थप प्रभावकारी बनाउँदै क्षेत्रलाई आधुनिक र प्रतिस्पर्धी बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने बताए।

भुर्तेलले युरोप, जापान, कोरिया, इजरायललगायत उच्च आय भएका मुलुकसँग श्रम सम्झौता विस्तार गरी नेपाली श्रमिकका लागि थप रोजगारी अवसर सिर्जना गर्ने, वैदेशिक रोजगारसम्बन्धी सम्पूर्ण प्रक्रियालाई डिजिटल माध्यमबाट सरल, छिटो र पारदर्शी बनाउने तथा कानुनी व्यवसायीको संरक्षण गर्दै अवैध गतिविधिमाथि प्रभावकारी नियन्त्रण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

लुइँटेलले भोलि हुने निर्वाचनमा सक्रिय सहभागिता जनाउँदै परिवर्तन, सुधार र सुशासनको पक्षमा मतदान गर्न सम्पूर्ण व्यवसायीहरूलाई आग्रह गरेका छन्। उनले मेघनाथ भुर्तेल नेतृत्वको टोलीले वैदेशिक रोजगार क्षेत्रको संस्थागत विकास र दीर्घकालीन सुधारमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।

प्रकाशित मिति: शनिबार, जेठ २३, २०८३  १८:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update