Banner Nepal
जल तथा मौसम पूर्वानुमान महाशाखाको पूर्वानुमान : देशभर बदली र वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले देशमा पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु तथा तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव कायम रहेको जनाएको छ।

महाशाखाका अनुसार हाल कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका हिमाली तथा पहाडी भागमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने बाँकी क्षेत्रमा आंशिक बदली देखिएको छ। कोशी र बागमती प्रदेशका केही स्थान तथा गण्डकी र लुम्बिनी प्रदेशका केही क्षेत्रमा मध्यम वर्षा भइरहेको जनाइएको छ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशसहित देशका हिमाली तथा पहाडी भूभागमा सामान्य बदली रहने तथा अन्य क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ।

महाशाखाले कोशी प्रदेशका केही स्थान, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थान तथा अन्य हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्ने जनाएको छ। साथै मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा पनि वर्षाको सम्भावना रहेको छ। उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना समेत रहेको महाशाखाले उल्लेख गरेको छ।

त्यसैगरी, आज राति पनि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलगायत हिमाली भूभागमा सामान्य बदली रहने तथा अन्य क्षेत्रमा आंशिक बदली कायम रहने पूर्वानुमान गरिएको छ।

महाशाखाका अनुसार कोशी र मधेश प्रदेशका केही स्थान तथा बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा र हिमपात हुनसक्ने सम्भावना रहेको छ।

प्रकाशित मिति: बिहीबार, वैशाख ३१, २०८३  ०८:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update