काठमाडौँ । बालेन्द्र शाहले प्रतिनिधि सभाको आज बस्ने बैठकमा सांसदहरुले उठाएका जिज्ञासाको जवाफ दिने भएका छन्।
रामचन्द्र पौडेलले वैशाख २८ गते सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि सांसदहरुले विभिन्न प्रश्न तथा जिज्ञासा राखेका थिए।
उक्त जिज्ञासाको जवाफ बुधबार प्रधानमन्त्री शाहले दिने कार्यसूची तय गरिएको थियो। तर प्रधानमन्त्रीको प्रतिनिधिका रूपमा डा. स्वर्णिम वाग्ले उपस्थित हुने भएपछि प्रतिपक्षी दलका सांसदहरुले सदन अवरुद्ध गरेका थिए। त्यसपछि बैठक स्थगित गरिएको थियो।
स्थगित भएको प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ। सङ्घीय संसद्ले सार्वजनिक गरेको कार्यसूचीअनुसार नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ प्रधानमन्त्री शाहले दिने उल्लेख गरिएको छ।
यसैदिन डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३–८४ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) माथि छलफल गरियोस् भन्ने प्रस्ताव संसदमा पेस गर्ने कार्यसूची रहेको छ।
त्यसैगरी, प्रतिनिधि सभाका सदस्य गणेश पराजुलीले ‘प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८३’ सभामा प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।


