काठमाडौँ । सम्भावित बाढी तथा सडक निर्माण कार्यका कारण बिपी राजमार्ग र हिल्सा–सिमकोट सडक खण्डमा सवारी आवागमन बन्द गरिएको छ।
नेपाल प्रहरी प्रधानकार्यालयले बिहीबार सूचना जारी गर्दै काभ्रेपलाञ्चोकको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी हुँदै सिन्धुली जोड्ने बिपी राजमार्गमा सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै सवारी सञ्चालनमा रोक लगाइएको जनाएको हो।
प्रहरीका अनुसार २०८३ वैशाख २१ गते साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म उक्त सडकखण्डमा सञ्चालन हुने सम्पूर्ण सवारीसाधन अर्को आदेश नभएसम्मका लागि बन्द गरिएको छ।
यस्तै, हुम्लाको नाम्खा गाउँपालिका–२ स्थित च्यादुक क्षेत्रमा सडक विस्तारको काम भइरहेका कारण हिल्सा–सिमकोट सडकखण्डमा पनि यातायात अवरुद्ध भएको छ। च्यादुक होटलदेखि च्याछरासम्म सडक खन्ने क्रममा माथिबाट ढुङ्गा र माटो खस्ने जोखिम बढेकाले वैशाख २९ गतेदेखि जेठ २ गतेसम्मका लागि सडकखण्ड बन्द गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले यात्रु तथा सवारी चालकलाई वैकल्पिक मार्ग प्रयोग गर्न तथा आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।


