Banner Nepal
नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिमा दुई नयाँ सदस्य नियुक्त

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिमा दुई नयाँ सदस्य नियुक्त गर्नुभएको छ। बुधबार मन्त्रीस्तरीय निर्णयमार्फत अंशुकिरण शाही र कृष्ण बसेललाई आगामी चार वर्षका लागि सञ्चालक समितिमा नियुक्त गरिएको हो।

काठमाडौँ महानगरपालिका–१५ निवासी शाहीलाई निजी क्षेत्रको प्रतिनिधित्व गर्दै नियुक्त गरिएको छ भने नागार्जुन नगरपालिका–५ निवासी बसेललाई उपभोक्तातर्फबाट सञ्चालक समितिमा समावेश गरिएको मन्त्रालयले जनाएको छ।

यसैबीच, प्राधिकरण सञ्चालक समितिले निमित्त कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठलाई कायममुकायम कार्यकारी निर्देशकको जिम्मेवारी दिने निर्णय गरेको छ। ऊर्जा मन्त्री श्रेष्ठको अध्यक्षतामा बुधबार बसेको प्राधिकरण सञ्चालक समितिको १०३० औँ बैठकले उक्त निर्णय गरेको हो।

दीर्घायुकुमार श्रेष्ठ विगत २९ वर्षदेखि प्राधिकरणको प्राविधिक तथा व्यवस्थापकीय जिम्मेवारीमा सक्रिय रहँदै आउनुभएको छ। उहाँले २०५४ सालमा सातौँ तहको अधिकृतका रूपमा नेपाल विद्युत् प्राधिकरणमा सेवा प्रवेश गर्नुभएको थियो।

प्रकाशित मिति: बिहीबार, वैशाख ३१, २०८३  ०८:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update