Banner Nepal
दुईदिने सार्वजनिक बिदापछि विद्यालयको हिउँदे–बर्खे बिदा १५ दिन घटाइयो

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयको हिउँदे तथा बर्खे बिदा १५ दिन कटौती गरेको छ । यसअघि एक शैक्षिक सत्रमा ४५ दिनसम्म दिइँदै आएको बिदा अब ३० दिनमा सीमित हुने भएको हो । सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेपछि पठनपाठनमा पर्ने प्रभाव कम गर्न मन्त्रालयले यस्तो व्यवस्था लागू गरेको जनाएको छ ।

निर्णय कार्यान्वयनका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्रले मङ्गलबार देशभरका ७७ वटै शिक्षा विकास तथा समन्वय एकाइ र स्थानीय तहलाई परिपत्र गर्दै निर्देशन दिएको छ । मन्त्रिपरिषद्को गत चैत २२ गतेको निर्णयअनुसार शनिबार र आइतबार सार्वजनिक बिदा लागू गरिएपछि शैक्षिक समय व्यवस्थापनका लागि नयाँ मापदण्ड तय गरिएको हो ।

केन्द्रले जारी गरेको निर्देशनमा विद्यालयमा दैनिक प्रार्थना समय १५ मिनेटमा सीमित गर्ने, खाजा समय ३० मिनेट मात्रै छुट्याउने तथा सोमबारदेखि शुक्रबारसम्म पूरा समय पठनपाठनसम्बन्धी गतिविधिमा केन्द्रित रहने व्यवस्था गरिएको छ । त्यस्तै पहिलो र दोस्रो त्रैमासिक आन्तरिक मूल्याङ्कनलाई नियमित पठनपाठनमा असर नपर्ने गरी सञ्चालन गर्न र अन्तिम परीक्षा तथा नतिजा प्रकाशनका लागि शैक्षिक सत्रको अन्तिम १२ दिन छुट्याउन पनि भनिएको छ ।

यता, राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजाअनुसार सबैभन्दा धेरै परीक्षार्थी मधेश प्रदेशमा ननग्रेडेड समूहमा परेका छन् । तथ्याङ्कअनुसार मधेश प्रदेशबाट ७६ हजार ३१७ जना परीक्षार्थी सहभागी भएकामा ३१ हजार ७२५ जना अनुत्तीर्ण भएका छन् ।

कोशी प्रदेशमा ७२ हजार २५६ जना सहभागीमध्ये २१ हजार ३६६ जना ननग्रेडेड भएका छन् भने बागमती प्रदेशमा ९८ हजार ८१७ मध्ये २१ हजार ७०४ जना अनुत्तीर्ण भएका छन् । गण्डकी प्रदेशमा भने तुलनात्मक रूपमा राम्रो नतिजा देखिएको छ । त्यहाँ ३६ हजार ४९३ परीक्षार्थीमध्ये नौ हजार ९४३ जना मात्रै ननग्रेडेड भएका छन् ।

कर्णाली प्रदेशबाट ३२ हजार ३३६ जना सहभागी भएकामा १३ हजार २४१ जना अनुत्तीर्ण भएका छन् भने सुदूरपश्चिम प्रदेशमा ४२ हजार २९९ मध्ये २० हजार ६३५ जना ननग्रेडेड समूहमा परेका छन् ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार यस वर्ष एसइईमा कुल ६५.९८ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । देशभरबाट दुई लाख ८४ हजार १६० जना ग्रेडेड समूहमा परेका छन् भने एक लाख ४६ हजार ५०७ जना ननग्रेडेड भएका छन् ।

बोर्डका सदस्यसचिव जङ्गबहादुर अर्याल का अनुसार ननग्रेडेड परीक्षार्थीका लागि असार १ देखि ९ गतेसम्म ग्रेडवृद्धि परीक्षा सञ्चालन गरिनेछ । साथै नतिजामा चित्त नबुझेका विद्यार्थीले जेठ १ देखि ७ गतेसम्म पुनर्योगका लागि निवेदन दिन सक्ने बोर्डले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, वैशाख ३०, २०८३  १२:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update