Banner Nepal
प्रतिनिधिसभामा न्यायाधीशबारे टिप्पणी विवादित, कांग्रेस–रास्वपाबीच चर्कियो बहस

नेपाली कांग्रेसका सचेतक निश्कल राई ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका उपनेता गणेश पराजुली को अभिव्यक्तिप्रति प्रतिनिधिसभामा आपत्ति जनाउनुभएको छ ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै राईले पराजुलीले न्यायाधीशसँग सम्बन्धित विषयमा दिएको अभिव्यक्ति संविधानविपरीत रहेको टिप्पणी गर्नुभयो । उहाँले महाभियोग लागेको अवस्थाबाहेक न्यायाधीशबारे संसद्मा छलफल गर्न नपाइने संवैधानिक व्यवस्था रहेको उल्लेख गर्दै सत्तारुढ दलका सांसदले दुई तिहाइको दम्भ देखाएर सदनलाई प्रभावित पार्ने प्रयास गरेको आरोप लगाउनुभयो ।

राईले संविधानको धारा १०५ को उल्लेख गर्दै अदालतमा विचाराधीन मुद्दा तथा न्यायाधीशले आफ्नो जिम्मेवारी निर्वाहका क्रममा गरेका न्यायिक कार्यबारे संघीय संसद्को कुनै पनि सदनमा छलफल गर्न नपाइने स्पष्ट व्यवस्था रहेको बताउनुभयो । उहाँले “संविधानभन्दा माथि कोही हुन नसक्ने” उल्लेख गर्दै सभामुखले यस्ता विषयमा तत्काल रुलिङ गर्नुपर्ने धारणा राख्नुभयो ।

उहाँले हिजो नै यस विषयमा ध्यानाकर्षण गराउने तयारी गरे पनि संसद्को गरिमा र संवैधानिक विषय भएकाले सभामुख आफैँले आवश्यक निर्णय गर्नुहुने अपेक्षा गरेको बताउनुभयो । तर सभामुखको त्यसतर्फ पर्याप्त ध्यान नपुगेको उहाँको भनाइ थियो ।

राईको अभिव्यक्तिपछि रास्वपा सांसद गणेश पराजुली उठेर विरोध जनाउनुभएको थियो । त्यसपछि सभामुखले कुन नियमावलीअनुसार विरोध जनाइएको हो भन्दै प्रश्न गर्नुभएको थियो ।

सभामुखले अघिल्लो दिनको अभिव्यक्ति आफूले अझै अध्ययन गर्न बाँकी रहेको बताउँदै पराजुलीलाई रोकेर बैठकको कार्यसूची अगाडि बढाउनुभएको थियो ।

प्रकाशित मिति: बुधबार, वैशाख ३०, २०८३  १२:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update