भारतबाट जोगबनी हुँदै नेपाल प्रवेश गर्ने नाकामा सुरक्षाव्यवस्था थप कडा बनाइएको छ । मोरङ प्रशासनले मङ्गलबारदेखि नेपाल प्रवेश गर्ने प्रत्येक व्यक्तिले अनिवार्य रूपमा परिचयपत्र वा विश्वासिलो आधार पेस गर्नुपर्ने व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयनमा ल्याएको जनाएको छ ।
मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाका अनुसार केही दिनअघि सुरु गरिएको यो व्यवस्थालाई अब नियमित जाँचका रूपमा लागू गरिएको हो । सीमा क्षेत्रमा हुने अवैध घुसपैठ तथा गैरकानुनी गतिविधि नियन्त्रण गर्न यस्तो कदम चालिएको उहाँले बताउनुभयो । उहाँका अनुसार दुवै देशको सुरक्षालाई ध्यानमा राख्दै सीमामा सतर्कता बढाइएको हो ।
सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलसहितको टोलीले नाकामा पुगेर अनुगमन गरेको थियो । नाकामा सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ भने सुरक्षा जाँचमा दुई वटा तालिमप्राप्त कुकुरसमेत प्रयोग गरिएको छ ।
भारतीय सञ्चार माध्यमका अनुसार पश्चिम बङ्गालको मालदह क्षेत्रमा रोहिङ्ग्या समुदायको बाक्लो बसोबास रहेको र त्यहाँको चुनावी परिणामपछि उनीहरू अन्यत्र सर्न थालेको आशंका गरिएको छ । कोलकाताबाट जोगबनीसम्म सातामा तीन दिन रेल सेवा सञ्चालन हुने भएकाले ती दिनमा नेपाल प्रवेशको जोखिम बढ्न सक्ने अनुमानसहित सुरक्षाकर्मीले विशेष निगरानी बढाएका छन् ।
प्रशासनले सीमाक्षेत्रमा हुने अन्य आपराधिक गतिविधि नियन्त्रणका लागि पनि कडाइ प्रभावकारी हुने विश्वास व्यक्त गरेको छ । भारत जाने वा नेपाल फर्कने सम्पूर्ण नेपालीलाई परिचयपत्र अनिवार्य रूपमा साथमा राख्न र सुरक्षाकर्मीलाई सहयोग गर्न आग्रह गरिएको छ ।
सुरक्षा कडाइका बाबजुद दैनिक उपभोग्य वस्तु खरिदका लागि भारततर्फ जाने नेपाली उपभोक्तालाई विशेष असहजता नहुने सुरक्षा निकायले जनाएको छ । यद्यपि सीमामा आवतजावत गर्दा परिचयपत्र भने अनिवार्य रूपमा साथमा राख्न आग्रह गरिएको छ ।

