म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ महभिरमा पहिरो खसेपछि मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम–कोरला सडक आज बिहानदेखि अवरुद्ध भएको छ।
ढुङ्गा र माटोसहितको पहिरो खस्दा ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकखण्डमा सीधा यातायात सम्पर्क विच्छेद भएको हो। सडक बन्द भएपछि बेनीबाट मुस्ताङतर्फ र जोमसोमबाट बेनीतर्फ आउँदै गरेका सवारीसाधन बीचबाटोमै रोकिएका छन्।
सडक अवरुद्ध हुँदा स्थानीयवासी, मुस्ताङ भ्रमणमा जाने पर्यटक तथा मुक्तिनाथ दर्शनका लागि यात्रा गरिरहेका तीर्थयात्री प्रभावित भएका छन्।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सागर तिमिल्सीनाले सडक विभागका उपकरण परिचालन गरेर अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको जानकारी दिनुभयो।
महभिर क्षेत्रमा सडकभन्दा करिब पाँच सय मिटर माथिबाट निरन्तर पहिरो खस्ने गरेको स्थानीयले बताएका छन्। सामान्य वर्षा हुँदा पनि लेदोसहित पहिरो झर्ने भएकाले सडक अवरुद्ध हुनुका साथै दुर्घटनाको जोखिमसमेत बढ्ने गरेको छ।


