Banner Nepal
ब्रेक फेल हुँदा सिस्नेरी सडकखण्डमा ईभी दुर्घटना

सिस्नेरी–दक्षिणकाली–काठमाडौँ सडकखण्डअन्तर्गत मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ लामबगरस्थित सडकमा विद्युतीय गाडी दुर्घटना हुँदा १० जना घाइते भएका छन्।

काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको बा.प्र.०१–०३३ च ५२५८ नम्बरको विद्युतीय गाडी गएराति करिब ११ः१० बजे ब्रेक फेल भई दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक राजु प्रसाद कुर्मीका अनुसार चालकसहित ११ जना सवार रहेको गाडी सडकको दायाँतर्फको भित्तामा ठोक्किँदा दुर्घटना भएको हो।

गाडीमा नौ जना भारतीय नागरिक र दुई जना नेपाली नागरिक सवार रहेका थिए। प्रहरीका अनुसार चालकसहित दुई जना नेपाली सकुशल रहेका छन् भने एक जना उपचारपछि घर फर्किएका छन्। चालक धनुषाको लक्ष्मीनिया गाउँपालिका–४ निवासी ३० वर्षीय पिन्टु सिंहलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

दुर्घटनामा भारतको बिहार राज्य दरभङ्गाका ६० वर्षीय राम विनय झा, ७० वर्षीया निर्मला देवी, ५५ वर्षीया अनिता देवी, ५६ वर्षीया प्रज्ञा देवी, ५२ वर्षीया रुद्रकुमारी झा, ६७ वर्षीय हम्रानाथ झा, ७४ वर्षीय छत्रधर चौधरी, ६६ वर्षीय अमरनाथ झा, ४२ वर्षीया अनिता झा तथा धनुषाको लक्ष्मीनिया–४ निवासी २२ वर्षीय असान साफी घाइते भएका छन्।

घाइतेमध्ये असान साफी उपचारपछि घर फर्किएको प्रहरीले जनाएको छ। अन्य भारतीय नागरिकहरूको ललितपुरस्थित Alka Hospital मा उपचार भइरहेको छ।

प्रकाशित मिति: मंगलबार, वैशाख २९, २०८३  १०:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update