महोत्तरीको जलेश्वरस्थित प्रादेशिक अस्पतालमा कार्यरत अस्थायी तथा करारका चिकित्सक र स्वास्थ्यकर्मी तलब तथा भत्ता नपाएको भन्दै आन्दोलनमा उत्रिएका छन्। उनीहरूले तीन महिनादेखि तलब, भत्ता तथा लुगा भत्ता उपलब्ध नगराइएको भन्दै आन्दोलन गर्न बाध्य भएको बताएका छन्।
प्रादेशिक अस्पताल जलेश्वरका कन्सल्टेन्ट जनरल सर्जन डा. राजीव अधिकारीले लगातार तीन महिनादेखि तलब नपाउँदा दैनिक जीवनयापन गर्न कठिन भएको बताउनुभयो। बढ्दो महँगी र पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण आवतजावत र घरखर्च धान्न समस्या भएको उहाँको भनाइ छ।
उहाँले बिरामीको सेवामा लापरवाही गर्न नचाहेको उल्लेख गर्दै पटक–पटक तलब माग गर्दा पनि सुनुवाइ नभएपछि बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको बताउनुभयो।
आन्दोलनरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरू अस्पतालमा उपस्थित भई हाजिर गरेपछि आन्दोलनमा बसिरहेका छन्। आन्दोलनका कारण अस्पतालमा बिरामीको जाँच तथा उपचार सेवा प्रभावित भएको छ। अस्पताल प्रशासनका अनुसार एक सय शय्याको अस्पतालका २२ जना र ५० शय्याको अस्पतालका २५ जना गरी कुल ४७ जना विशेषज्ञ चिकित्सक, चिकित्सक तथा स्वास्थ्यकर्मी आन्दोलनमा सहभागी छन्।
अर्थोपेडिक सर्जन डा. सुनीलकुमार साहले इमर्जेन्सीबाहेक अन्य सबै सेवा प्रभावित भएको जानकारी दिँदै तत्काल तलब भुक्तानीका लागि सम्बन्धित निकायसँग आग्रह गर्नुभएको छ।
यता प्रादेशिक अस्पताल जलेश्वरका निमित्त कार्यालय प्रमुख डा. रवि श्रीवास्तवले तलब भत्ताको अपुग रकमबारे पटक–पटक प्रदेश स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई जानकारी गराइए पनि समस्या समाधान हुन नसकेको बताउनुभयो।
चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएपछि उपचारका लागि अस्पताल आएका बिरामी समस्यामा परेका छन्। सोमबार दाँतको उपचारका लागि अस्पताल पुगेकी जलेश्वर नगरपालिका–४ की मुस्कान खातुनले आन्दोलनका कारण उपचार नपाएको गुनासो गर्नुभयो। दुई दिन बिदापछि अस्पताल खुले पनि चिकित्सकले सेवा दिन नसक्दा आफू मर्कामा परेको उहाँले बताउनुभयो।


