चीन ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प को मे १३ देखि १५ तारिखसम्म चीन भ्रमण हुने कार्यक्रम सोमबार पुष्टि गरेको छ ।
चिनियाँ विदेश मन्त्रालय का प्रवक्ताका अनुसार राष्ट्रपति सी चिनफिङ को निमन्त्रणामा ट्रम्पले चीनको राजकीय भ्रमण गर्न लागेका हुन् ।
वासिङ्टन र बेइजिङबीच भन्सार महशुल, मध्यपूर्व युद्ध तथा ताइवान सम्बन्धी विषयमा लामो समयदेखि मतभेद रहँदै आएको छ । चीनले ताइवानलाई आफ्नो भूभागको हिस्सा भएको दाबी गर्दै आएको छ ।
यसअघि ट्रम्पले मार्च अन्त्य वा अप्रिलको प्रारम्भमा चीन भ्रमण गर्ने योजना बनाएका थिए । तर इरान युद्धसँग सम्बन्धित विषयमा ध्यान केन्द्रित गर्नुपर्ने भएकाले भ्रमण स्थगित गरिएको थियो ।
अमेरिकी अधिकारीहरूका अनुसार व्यापार तनाव कम गर्ने उद्देश्यका साथ हुने यस भ्रमणमा ट्रम्पले सी चिनफिङलाई इरानमाथि युरेनियम प्रवर्धन नियन्त्रण र युद्ध अन्त्यका लागि दबाब दिन आग्रह गर्ने अपेक्षा गरिएको छ । चीन इरानी तेलको प्रमुख ग्राहक मानिन्छ र उसले विशेष सहुलियत दरमा ठूलो मात्रामा इरानबाट कच्चा तेल आयात गर्दै आएको छ ।
अन्ना केली ले यो भ्रमण निकै साङ्केतिक महत्वको हुने बताएकी छन् । उनले राष्ट्रपति ट्रम्पले अमेरिकी हितका पक्षमा थप राम्रो सम्झौता गर्ने अपेक्षा गरिएको उल्लेख गरिन् ।
ह्वाइट हाउस का अनुसार ट्रम्पको दोस्रो कार्यकालको पहिलो चीन भ्रमणका क्रममा बेइजिङस्थित Temple of Heaven को भ्रमण तथा भव्य राजकीय भोजसहित विशेष समारोह आयोजना गरिनेछ । सन् २०१७ पछि अमेरिकी राष्ट्रपतिको यो पहिलो चीन भ्रमण हुनेछ ।


