काठमाडौँ । सङ्घीय संसद् को बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ । संसद्का महासचिव पद्यप्रसाद पाण्डे का अनुसार आज अपराह्न ४ बजे सङ्घीय संसद्को संयुक्त बैठक बस्नेछ ।
आजको कार्यसूचीअनुसार रामचन्द्र पौडेल ले नेपालको संविधानको धारा ९५ बमोजिम संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् । त्यसका लागि सङ्घीय संसद्का सदस्यहरुलाई अपराह्न ३ः४५ बजेअघि नै सिंहदरबारस्थित प्रतिनिधिसभा कक्ष (बहुउद्देश्यीय कक्ष) मा उपस्थित हुन आग्रह गरिएको छ ।
त्यसअघि अपराह्न २ बजे प्रतिनिधिसभा र राष्ट्रियसभा का बैठक बस्ने तय भएको छ ।
संसद् सचिवालयका अनुसार प्रतिनिधिसभा बैठकमा राष्ट्रपतिबाट अधिवेशन आह्वानसम्बन्धी पत्रबारे जानकारी गराइनेछ । साथै मन्त्रिपरिषद् पुनर्गठनसम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त सूचनाबारे सदनलाई जानकारी गराउने सम्भावित कार्यसूची रहेको छ ।
यसका साथै सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन, प्रतिनिधिसभा नियमावली २०७९ अन्तर्गत जारी भएको बाधा अड्काउ फुकाउ अनुमोदनका लागि पेस गर्ने तथा नियमावलीको मस्यौदा प्रस्तुत गर्ने कार्यसूची पनि रहेको संसद् सचिवालयले जनाएको छ ।
सरकारले जारी गरेका विभिन्न अध्यादेशहरू पनि आज संसद्मा पेस गरिने भएका छन् । तीमध्ये ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३’, ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ तथा ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) पहिलो संशोधन अध्यादेश, २०८३’ लगायत आठ अध्यादेश रहेका छन् । ती अध्यादेश प्रतिनिधिसभा र राष्ट्रियसभा दुवैमा पेस गरिने संसद् सचिवालयले जनाएको छ ।


