Banner Nepal
उत्तरपुस्तिका परीक्षण सकियो, एसइई नतिजा सार्वजनिक गर्ने तयारी

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्ड ले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा प्रकाशनको काम अन्तिम चरणमा पुगेको जनाएको छ । बोर्डका अनुसार विभिन्न जिल्लाबाट प्राप्त प्राप्ताङ्क रुजु गरी कम्प्युटरमा प्रविष्ट गर्ने काम सकिएको छ । कुनै जटिल प्राविधिक समस्या नआए ढिलोमा मङ्गलबारसम्म नतिजा सार्वजनिक गरिने तयारी रहेको बोर्डले जनाएको छ ।

विगतमा परीक्षा सम्पन्न भएको तीन महिनाभित्र नतिजा सार्वजनिक गर्ने गरिएको भए पनि यस वर्ष भने परीक्षा सकिएको एक महिनाभित्रै नतिजा सार्वजनिक गर्न लागिएको हो । एसइई परीक्षा गत चैत २९ गते सम्पन्न भएको थियो ।

बोर्डका परीक्षा नियन्त्रक (कक्षा १०) टुकराज अधिकारी ले परीक्षा सकिएको मितिले एक महिनाभित्र नतिजा सार्वजनिक गर्ने लक्ष्यअनुसार काम भइरहेको जानकारी दिएका छन् । उनका अनुसार वैशाख २९ भित्र नतिजा सार्वजनिक गर्ने गरी तयारी भइरहेको छ । हालसम्मको कार्यप्रगति हेर्दा लक्ष्यअनुसार नै काम भइरहेको उनले बताएका छन् ।

नयाँ सरकार गठनपछि एसइई नतिजा १५ दिनभित्रै सार्वजनिक गर्ने विषयमा समेत छलफल भएको थियो । तर हतार गर्दा प्राविधिक समस्या आउन सक्ने देखिएकाले बढीमा एक महिनाभित्र नतिजा सार्वजनिक गर्ने विषयमा मन्त्रालय र बोर्डका अधिकारीबीच सहमति भएको जनाइएको छ ।

यस वर्ष नतिजा प्रकाशनलाई छरितो बनाउन उत्तरपुस्तिका परीक्षा केन्द्रमै परीक्षण गरिएको थियो । साथै, परीक्षणका लागि आवश्यक जनशक्ति पनि बढी परिचालन गरिएको बोर्डले जनाएको छ । एसइई परीक्षा चैत १८ देखि २९ गतेसम्म सञ्चालन भएको थियो ।

परीक्षामा सहभागी हुन देशभरबाट पाँच लाख १२ हजार ४२१ जनाले फाराम भरेका थिए । तीमध्ये दुई लाख ५७ हजार ६१३ जना छात्रा र दुई लाख ५४ हजार ८०१ जना छात्र रहेका छन् । यद्यपि, वास्तविक सहभागी संख्या भने नतिजा सार्वजनिक भएको दिन मात्रै यकिन हुने बोर्डले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, वैशाख २८, २०८३  १०:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update