काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले १६ वटा युरोपेली देशसँग श्रम समझदारी अघि बढाउन परराष्ट्र मन्त्रालयमार्फत पहल गरिने बताउनुभएको छ ।
बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिको बैठकमा मन्त्री यादवले श्रम समझदारीका लागि मन्त्रालयले प्रत्यक्ष पहल गर्दा सम्बन्धित देशबाट जवाफ आउन ढिलाइ भएकाले अब परराष्ट्र मन्त्रालयमार्फत प्रक्रिया अघि बढाइने जानकारी दिनुभयो ।
मन्त्रालयका अनुसार नेपालले हाल जिटुजी र बिटुबी प्रणालीअन्तर्गत १३ देशसँग मात्रै श्रम समझदारी गरेको छ । तर, नेपाली श्रमिक भने श्रम स्वीकृति लिएर १७८ देशमा रोजगारीका लागि जाने गरेका छन् । श्रम समझदारी नभएका देशमा जाने श्रमिकहरू आर्थिक शोषण र विभिन्न समस्यामा पर्ने गरेको मन्त्रालयको भनाइ छ ।
मन्त्री यादवले विशेषगरी युरोप जाने नेपाली श्रमिकमाथि हुने ठगी र श्रमशोषण चिन्ताजनक रहेको उल्लेख गर्दै वैदेशik रोजगार प्रक्रियामा हुने आर्थिक ठगी नियन्त्रण गर्न सकेमा श्रमिकमाथि हुने शोषण कम गर्न सकिने बताउनुभयो ।
उहाँका अनुसार विदेश रोजगारीमा जानेमध्ये करिब ४८ प्रतिशत नेपालीले व्यक्तिगत श्रम स्वीकृति लिने गरेका छन् । साथै, महिला घरेलु श्रमिकहरू गैरकानुनी बाटोबाट विदेश जाने क्रम जारी रहेकाले समस्या पर्दा राज्यले प्रभावकारी सहयोग गर्न नसकेको उहाँले स्वीकार गर्नुभयो ।
बैठकमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री यादवले पछिल्लो समय युद्धका कारण विदेशमा मृत्यु भएका नेपाली श्रमिकको शव ल्याउन ढिलाइ भएको स्वीकार गर्नुभयो । यद्यपि अब शव ल्याउने प्रक्रियामा ढिलाइ नहुने उहाँको भनाइ थियो ।
समिति सदस्यहरूले वैदेशिक रोजगारमा जाने नेपाली नागरिकलाई ठगीबाट जोगाउन राज्यले थप प्रभावकारी भूमिका खेल्नुपर्ने सुझाव दिएका थिए । बैठक समिति सभापति रहबर अन्सारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।


