Banner Nepal
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भनिएको भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित १४ जनाविरुद्ध विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले बिहीबार दायर गरेको मुद्दामा विमानस्थल निर्माणका क्रममा ठेक्का सम्झौताविपरीत चिनियाँ ठेकेदार कम्पनीलाई राजस्व छुट दिई राज्यलाई आर्थिक नोक्सानी पुर्‍याइएको आरोप लगाएको छ ।

आयोगका अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरण र चिनियाँ ठेकेदार कम्पनी सिएएमसी इन्जिनियरिङबीच भएको खरिद सम्झौतामा कम्पनीले नै कर, महसुल तथा अन्य शुल्क तिर्नुपर्ने स्पष्ट व्यवस्था थियो । तर, सो व्यवस्थाविपरीत बदनियतपूर्वक ‘इम्प्लिमेन्टेसन एग्रिमेन्ट’ गरी कर छुट प्रदान गरिएको अनुसन्धानबाट खुलेको आयोगको दाबी छ ।

आयोगले उक्त निर्णयमार्फत सार्वजनिक सम्पत्ति हिनामिना भएको तथा प्रतिवादीहरूले आर्थिक लाभ लिएको आरोप लगाएको छ ।

यस प्रकरणमा तत्कालीन अर्थमन्त्री कार्कीसहित तत्कालीन अर्थसचिव शङ्करप्रसाद अधिकारी, तत्कालीन पर्यटन सचिव महेश्वर न्यौपाने, अर्थ मन्त्रालयका तत्कालीन सहसचिवहरू केवलप्रसाद भण्डारी, सुरेश आचार्य र दुण्डुराज घिमिरेविरुद्ध मुद्दा दायर गरिएको छ ।

त्यस्तै नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक सञ्जीव गौतम र निवर्तमान महानिर्देशक प्रदीप अधिकारी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन इलेक्ट्रोनिक्स इन्जिनियर योगेश अर्याल, अर्थ मन्त्रालयका तत्कालीन उपसचिव युवराज पाण्डे तथा शाखा अधिकृत उर्मिला भण्डारीविरुद्ध पनि भ्रष्टाचार मुद्दा दर्ता गरिएको छ ।

आयोगले चिनियाँ कम्पनी सिएएमसी इन्जिनियरिङ, कम्पनीका अध्यक्ष वाङ वो र परियोजना व्यवस्थापक याङ झिग्याङलाई समेत प्रतिवादी बनाएको छ ।

सहायक प्रवक्ता गणेशबहादुर अधिकारीका अनुसार सबै प्रतिवादीविरुद्ध तीन अर्ब ६२ करोड पाँच लाख २२ हजार १६० रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐनअनुसार कारबाहीको माग गरिएको छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता भएको आरोपमा आयोगले दायर गरेको यो तेस्रो मुद्दा हो । यसअघि आयोगले गत मङ्सिर २१ गते पहिलो मुद्दा र चैत ८ गते दोस्रो मुद्दा दायर गरेको थियो ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २५, २०८३  १२:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update