Banner Nepal
प्यूठानमा तीन वर्षपछि खुल्यो सासू हत्या रहस्य, सौतेनी बुहारी पक्राउ

काठमाडौँ । प्यूठानमा तीन वर्षअघि भएको एक महिलाको हत्या प्रकरणमा प्रहरीले मृतककी सौतेनी कान्छी बुहारीलाई पक्राउ गरेको छ ।

स्वर्गद्वारी नगरपालिका–६ डाँडाखर्ककी ६३ वर्षीया धनीकुमारी सुनार २०७९ मंसिर १ गते स्थानीय भुपाल घर्तीको बारीमा मृत अवस्थामा फेला परेकी थिइन् । प्यारालाइसिसका कारण लामो समयदेखि ओछ्यानमा थलिएकी उनको टाउकोमा चोट लागेको अवस्थामा शव भेटिएको थियो ।

जिल्ला प्रहरी कार्यालय प्यूठानका अनुसार घटनाको प्रारम्भिक अनुसन्धानमा स्पष्ट प्रमाण नखुलेपछि मुद्दा लामो समयसम्म पेन्डिङ अवस्थामा रहेको थियो । पछिल्लो अनुसन्धानका क्रममा मृतककी ३२ वर्षीया सौतेनी कान्छी बुहारी चेती सुनारको संलग्नता देखिएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरी निरीक्षक हरि भट्टराईका अनुसार सासूको हेरचाहका क्रममा उत्पन्न तनावका कारण घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ । प्रहरीको आशंकाअनुसार टाउकोमा प्रहार गरी हत्या गरेपछि शव बारीमा घिसारेर फालिएको हुनसक्ने देखिएको छ ।

घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । जिल्ला अदालत प्यूठानले कर्तव्य ज्यान मुद्दामा अनुसन्धानका लागि पाँच दिनको म्याद थप गरेको छ । प्रहरीले निष्पक्ष अनुसन्धानपछि प्रतिवेदन अदालतमा पेश गरिने जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २५, २०८३  १२:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update